नेपाल सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

सिंहदरबार, काठमाण्डौ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री थममाया थापासंग नेपालका लागि अमेरिकी महामहिम राजदूत श्री राण्डी डब्लु बेरीले शिष्टाचार भेट

मिति 2076/05/02 गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री थममाया थापासंग नेपालका लागि अमेरिकी महामहिम राजदूत श्री राण्डी डब्लु बेरीले शिष्टाचार भेट गर्नुभयो । उक्त अवसरमा दुई देशको आपसी हित र द्विपक्षीय चासोको विषयमा छलफल भएको थियो । महामहिम राजदुतले अमेरिकी सरकारबाट नेपाललाई विगतदेखि हुदै आएको सहयोगलाई निरन्तरता दिने र दुई देशबीचको सुमधुर सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । अमेरिकी सरकार र अमेरिकी जनताले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा सहयोग पुर्‍याउदै आएको र विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि क्षेत्र र मानव बेचबिखन विरुद्धको अभियानमा सहयोग गर्दै आएको स्मरण गर्नुभयो । महामहिम राजदुतले मानब बेचविखन विरुद्धमा नेपालले गरेको कामप्रति माननीय मन्त्रीज्यूको प्रशंसा गर्दै सो विषयमा अमेरिकी सरकारवाट आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । माननीय मन्त्रीज्यूले नेपालमा मानब बेचविखन विरुद्ध ऐन कानुन बनेका र यसको प्रभावकारी कार्यान्वयनको प्रयास भईरहेको साथै आबश्यकता अनुसार संशोधन गर्ने प्रकृया अगाडी बढाईएको पनि जानकारी गराउर्दै मानब बेचविखन तथा विभिन्न किसिमका हिंसामा परेका महिलाको लागि सेवा केन्द्र (सेफ हाउसहरु) प्रदेश नं 1 मा निर्माण भईसकेको र प्रदेश नं. 3 मा निर्माण हुने क्रममा रहेको साथै अन्य 5 वटा प्रदेशमा समेत निर्माण गर्ने ईच्छा व्यक्त गर्नु भयो । अमेरिकी सरकार र अमेरिकी जनताले नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा पुर्‍याएको सहयोगप्रति माननीय मन्त्रीज्यूले आभार व्यक्त गर्नुभयो । माननीय मन्त्रीज्यूले नेपालमा तीनै तहको निर्वाचन मार्फत संघ र प्रदेशमा 33 प्रतिशत, स्थानीय तहको राजनीतिक नेतृत्वमा 41 प्रतिशत महिलाको प्रतिनिधित्व भएको स्मरण गर्दै महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरणद्वारा आगामी दिनहरुमा सामाजिक रुपान्तरण गर्नुपर्ने आश्यकता जनाउनु भयो । यसका लागि विभिन्न कार्यक्रमहरु हाल संचालन भइरहेको माननीय मन्त्रीज्यूले जानकारी गराउनु भयो । श्रीमान् सचिवज्यूबाट दुवै पक्षको छलफलमा अमेरिकी सरकारसंग सदाझै निरन्तर सहयोग प्राप्त हुने अपेक्षा राख्नुभयो । माननीय मन्त्रीज्यूबाट अमेरिकी सरकारको सहयोगमा संघसंस्था मार्फत संचालन गरिने सहायता परिचालनका बारे सरोकारवाला मन्त्रालय र सम्बन्धित सवै पक्षसंग छलफल गर्दै अघि बढ्ने बताउनु भयो ।

 

राजेन्द्रकुमार पौडेल
प्रवक्ता