नेपाल सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

सिंहदरबार, काठमाण्डौ

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको तेह्रौं राष्ट्रिय दिवस

भाद्र 20, 2076 का दिन मानव बेचबिखन तथा ओसारपसार विरुद्धको तेह्रौं राष्ट्रिय दिवस महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा सम्पन्न गरियो । पहिलो खण्डमा प्रभात फेरी कार्यक्रम सम्पन्न गरि राष्ट्रिय सभा गृहमा मूल समारोहको कार्यक्रम गरियो।

उक्त कार्यक्रमका प्रमूख अतिथी माननीय गृह मन्त्री रामबहादुर थापा, विशिष्ट अतिथी महिला तथा सामाजिक विकास समितिका माननीय सभापति निरुदेवी पाल, अतिथीको रुपमा संवैधानिक निकायका प्रतिनिधीहरु, नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारी ज्यूहरु, प्रहरी महानिरिक्षक श्री सर्वेन्द्र खनाल लगायत स्थानीय तहका प्रमूख उप प्रमूख, जिल्ला समन्वय समिति, नगरपालिका महासंघ र गाउँपालिका महासंघका प्रतिनिधीहरु, तीन वटै सुरक्षा निकायका विशिष्ट व्यक्तित्वहरु, कुटनीतिक नियोगका पदाधिकारी अन्तर्राष्ट्रिय गैर सरकारी संस्था राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज, नेपाल रेडक्रस लगायत विभिन्न मन्त्रालयका प्रतिनिधिहरु र पत्राकार तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । यस कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विविध 4 विधाबाट छनौट गरिएको व्यक्ति तथा संस्थालाई पूरस्कार वितरण तथा सम्मान गरियो । कार्यक्रममा प्रमूख अतिथी लगायत उपस्थित महानुभावहरुलाई आयोजक मन्त्रालयको तर्फबाट सह सचिव श्री राजेन्द्रकुमार पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो।

यसै सन्दर्भमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने कार्यमा सरकारलाई सहयोग गर्दै आएको एटविन संस्थाका अध्यक्ष अन्जना शाक्यले सप्ताहव्यापी कार्यक्रमभित्र रहेर राष्ट्रभरीका मानव बेचबिखन तथा ओसारपसारबाट पीडित/ प्रभावितहरुलाई 200 संख्यामा काठमाण्डौमा भेला गराई अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको बताउनु भएको थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखन तथा ओसारपसार एक विश्वव्यापी समस्याको रुपमा रहेको बताउदै अनुसन्धान तथा अभियोजन गर्ने कार्यमा नेपाल प्रहरीले विश्वमै उदाहरणीय सफलता हासिल गरेको कुरा व्यक्त गर्नु भयो ।

महिला बालबालिकाका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेज्यूले नेपाल सरकारका तर्फबाट भए गरेका नीति योजना तथा कार्यक्रमका बारेमा प्रष्ट पार्दै मानव बेचबिखन तथा ओसारपसारमुक्त/मर्यादित समाजको स्थापना गर्न आजको दिनले विशेष महत्व प्रदान गर्नेछ र मन्त्रालयको नीति तथा कार्यक्रमभित्र रहेर सरोकारवालाहरुले सरकारलाई सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

महिला तथा सामाजिक विकास समितिका माननीय सभापति निरुदेवी पालले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न आफैंभित्रका नातेदार छिमेकी संलग्न रहने हुँदा अपराधिक गतिविधि गर्ने जो कोहीलाई पनि कानूनको कठघरामा ल्याउन हामी प्रतिवद्ध रहनु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रमका प्रमूख अतिथी माननीय गृह मन्त्री रामबहादुर थापाज्यूले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा तीनै तहको सरकारको महत्वपूर्ण भूमिका रहने कुरामा जोड दिदै अपराधिका कार्य गर्ने जो कसैलाई पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिवद्ध रहेको कुरा व्यक्त गर्नु भयो । साथै नागरिक समाजले पनि कुनै प्रकारका लोभ र मोहमा नफसीकन आधुनिक जीवनशैली जीउने कुरामा सतर्क रहनु पर्ने कुरा व्यक्त गर्दै हालका दिनमा सामाजिक न्याय र सामाजिक सुरक्षा समेत बढ्दै गएको कुरा व्यक्त गर्नु भयो ।

यस कार्यक्रमको अन्त्यमा आयोजक मन्त्रालयका माननीय मन्त्री थममाया थापाज्यूले समापन मन्तव्य राख्दै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा तीनै तहका सरकार एवम सरोकारवाला सबैको प्रतिवद्धता रहनु पर्ने एवम हामी सबैको सहकार्य र ऐक्यबद्धताबाट मात्र यसबाट पीडित र प्रभावित भएकाहरुको राहत पूनर्स्थापना एवम सामाजिक पूनर्मिलन गराउन सकिने कुरामा विशेष जोड दिनु भयो । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण सहभागीहरुलाई शुभकामना सहित धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भयो।


मिति: 2076/05/20 गते

राजेन्द्र कुमार पौडेल
सह-सचिव एवं प्रवक्ता
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय