नेपाल सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

सिंहदरबार, काठमाण्डौ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री थममाया थापाज्यू समक्ष नेपालका लागि चिनिया राजदूत महामहिम H.E. Ms. Hou Yanqi ले शिष्टाचार भेट

प्रेस विज्ञप्ति

2076/05/26 गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री थममाया थापाज्यू समक्ष नेपालका लागि चिनिया राजदूत महामहिम  H.E. Ms. Hou Yanqi ले शिष्टाचार भेट गर्नुभयो । उक्त अवसरमा दुई देशको आपसी हित र द्विपक्षीय चासोको विषयमा छलफल भएको थियो । सो भेटघाटको क्रममा माननीय मन्त्रीज्यूले महामहिम राजदूतलाई उहाँको कार्यकालको उच्च सफलताको हार्दिक शुभकामना व्यक्त गर्नुभयो । महामहिम राजदूतले माननीय मन्त्री ज्यूद्धारा प्रस्तुत गरिएको मन्त्रालयको कामको प्रकृतीको जानकारीले  मन छोएको र नेपाल सरकारले महिलाको अधिकारलाई संविधानमा  व्यवस्था  गरेर 33 प्रतिशत सहभागिता सुनिश्चित गरेको विषय सह्रानिय रहेको बताउनु भयो । आधा आकास ढाक्ने महिला भन्ने माओसेतुङ्गको लोकप्रिय भनाई  संझना गर्दै चिनमा हाल आधा भन्दा बढी क्षेत्र महिलाले ओगटेको उल्लेख गर्नु भयो । अझै पनि चीनको दुर्गम क्षेत्रहरुमा छोरालाई प्राथमिकता  दिई महिलाले घरको काम गर्नु पर्ने अवस्था भएकोले चीन सरकारले यसमा परिवर्तन ल्याउन समान कामको  लागि समान ज्याला, छोराछोरीमा विभेद गर्नु नहुने,  छोरीलाई विशेष अवसर दिलाउने, सबै बालबालिकाले  अनिवार्य विद्यालय जानु पर्ने व्यवस्था  गरेको र  म आफू पनि महिला भएर यस विषयमा अझ लागि परेको बताउनु भयो । महामहिम राजदूतले नेपालमा भरखरै सम्पन्न विद्यालय स्तरिय कार्यक्रममा छात्र र छात्राको संख्या बराबर भएको देख्दा खुशी लागेको  बताउनु भयो । 

 

महामहिम राजदूतले चिनिया सरकारबाट नेपाललाई विगतदेखि हुदै आएको सहयोग  शिक्षा, तालिम, भ्रमण जस्ता विषयको आदान प्रदानलाई निरन्तरता दिने र दुई देशबीचको सुमधुर सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । चिनिया सरकार र चिनिया जनताले नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा पुर्‍याएको सहयोगप्रति माननीय मन्त्रीज्यूले आभार व्यक्त गर्नुका साथै चिनिया महामहिम राजदूत H.E. Ms. Hou Yanqi ले यस सम्बन्धलाई अझ गाढा बनाउने भूमिका खेलेकोमा प्रशंसा गर्नुभयो । माननीय मन्त्रीज्यूले नेपाली महिलाको तीनै तहमा भएको उल्लेखनिय सहभागिता नेपालको ईतिहासमै पहिलो पटक भएको र राजनैतिक स्थिरता कायम भएको जानकारी गराउनु भयो । हाल मुलुक संघीय संरचनामा प्रवेश गरी आर्थिक समृद्धिको दिशादर्फ अघि बढेको सन्दर्भमा चिनिया सरकारबाट सदाझैँ निरन्तर सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो । महामहिम राजदूतले सो विषयमा चिनिया सरकारको साथ र सहयोग रहने कुरा व्यक्त गर्नुभयो । आगामी दिनमा महिलाको आर्थिक सशंक्तिकरण, लैंगिक समानता, अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण तथा ज्येष्ठ नागरिकको व्यवस्थापन लगायतका क्षेत्रमा दुवै देशले सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

मिति: 2076/05/29 गते

 

पृथ बहादुर के.सी.

उप-सचिव एवं सहायक प्रवक्ता

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय