महिलाको स्थिति सम्बन्धी संयुक्त राष्ट्र संघीय आयोगको ६४ औं सम्मेलनको तयारी बैठक सम्पन्न

माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गज्यूको अग्रसरतामा मिति २०७६।१०।२० गते सोमवारका दिन महिलाको स्थिति सम्बन्धी संयुक्त राष्ट्र संघीय आयोगको ६४ औं सम्मेलनको तयारी बैठक सम्पन्न भयो । सो बैठकको अध्यक्षता मन्त्रालयका सचिव श्री चन्द्र कुमार घिमिरेज्यूबाट भएको थियो । बैठकमा प्रतिनिधि सभा, महिला अधिकार तथा सामाजिक विकास समितिका सभापति माननीय निरुदेवी पाल र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरु, राष्ट्रिय महिला आयोगका सचिवज्यू, महिलाविरुद्ध हुने भेदभाव निवारण सम्बन्धी संयुक्त राष्ट्र संघीय समितिका उपाध्यक्ष श्री वन्दना राणा, राष्ट्रपति महिला उत्थान कार्यक्रम राष्ट्रिय निर्देशन समितिका सदस्यहरु, मन्त्रालयका विज्ञ समूह सदस्यहरु, लैंगिक समानता तथा महिला सशक्तिकरणका क्षेत्रमा सकृय रहेका विभिन्न संघ संस्थाहरु, सामुदायिक संस्थाहरु, निजी क्षेत्र र संचार क्षेत्रको सहभागिता रहेको थियो । सो बैठकमा मन्त्रालयका तर्फबाट आयोगको ६४ औं सम्मेलनका लागि भएको तयारीका विषयमा मन्त्रालयका सहसचिव श्री मनमाया पँगेनी भट्टराईज्यूले प्रस्तुति राख्नु भएको थियो ।

बैठकमा छलफलबाट ६४ औं सम्मेलन आ-आफ्ना देशमा लैंगिक समानता तथा महिला सशक्तिकरणका क्षेत्रमा भएका उपलब्धिलाई प्रस्तुत गर्ने अवसर भएको र बेईजिङ् कार्ययोजनाको २५ औं वर्ष समेत भएकोले महत्वपूर्ण भएको निष्कर्ष निस्कियो । बैठकबाट ६४ औं सम्मेलनमा लैंगिक समानता तथा महिला सशक्तिकरणका क्षेत्रमा नेपाल सरकारका विभिन्न कार्यक्रमहरु, प्रदेश तथा स्थानीय तहका उदाहरणीय कार्यहरु, सामुदायिक संस्था तथा निजी क्षेत्रका कार्यहरु एवं नागरिक समाज संस्थाहरुबाट भएका कार्यहरु समेतलाई समेटी नेपालले उपलब्धिको खाका तयार गर्नुपर्ने सुझाव प्राप्त भयो । सो बैठकमा माननीय मन्त्रीज्यूबाट सम्मेलनमा नेपालले 'समृद्ध नेपाल सुखी नेपाली' को लक्ष्यमा अहिलेसम्मका उपलब्धीलाई प्रस्तुत गर्न सरकार र सरोकारवाला संघ संस्थाहरुबाट भएका उल्लेखनीय कार्य समेटेर प्रस्तुत हुन मिलेर काम गर्न आह्वान गर्नुभयो । बैठकलाई मन्त्रालयका सचिवज्यूले सहजिकरण गर्नुका साथै तथ्यगत ढंगले प्रस्तुत हुन वस्तुगत तथ्याङ्कको आवश्यकता हुने भएकोले सबैले सोही अनुरुप तयारी गर्नु पर्ने र त्यहाँ हुने सबै समाहरोहमा नेपालका तर्फबाट सकृय सहभागिता जुटाउने गरी हरेक सत्रको अलग अलग तयारी हुनुपर्ने हुँदा मन्त्रालयले सोही अनुरुप तयारी गर्नुपर्नेमा जोडदिनु भएको थियो ।