Government Of Nepal

Ministry of Women, Children and Senior Citizens

Singhadurbar, Kathmandu

मन्त्रालय र यूएनस्क्यापको संयुक्त आयोजनामा महिला उद्यमशिलता लक्षित राष्ट्रिय स्तरको छलफल कार्यक्रम स

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (यूएनस्क्याप) सँगको संयुक्त आयोजनामा महिला उद्यमशिलता लक्षित “Catalyzing Women’s Entrepreneurship: Creating a Gender Responsive Entrepreneurial Ecosystem” आयोजना शुरु गर्ने उद्देश्यले राष्ट्रिय स्तरको छलफलको आयोजना गर्यो । यूएनस्क्यापसँगको सहयोगमा नेपालमा शुरु गरिने उक्त आयोजनामा क्यानाडा सरकारको सहयोग रहेको छ ।

सो कार्यक्रमको उद्घाटन गर्दै माननीय मन्त्री थममाया थापाज्यूबाट महिलाको आर्थिक सशक्तिकरणले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने हुँदा महिला उद्मशिलता आवश्यक रहेको र आयोजनाबाट महिला उद्यमीका लागि आवश्यक वित्तीय पहुँच र सूचना प्रविधिको पहुँच विस्तारमा सहयोग पुग्ने गरी आयोजनाको विकास गरिनु पर्ने धारणा राख्नु भयो । सो अवसरमा मन्त्रालयका सहसचिव श्री रुद्रादेवी शर्माले स्वागत मन्तव्य दिनु भयो भने यूएनस्क्यापका डा. श्रीनिवास टाटा, नेपालका लागि क्यानाडाका कायममुकायम उपराजदुत श्री अमाण्डा स्ट्रोहान, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएडिपी) का आवासीय प्रतिनिधि श्री आईसाने मेदागंगोदा लाबे, नेपाल नगरपालिका संघका महासचिव श्री भीमप्रसाद ढुङ्गाना र राष्ट्रिय योजना आयोगका सहसचिव श्री खोमराज कोईरालाले पनि धारणा राख्नु भयो । उद्घाटन सत्रको समापन गर्दै मन्त्रालयका सचिव श्री चन्द्र कुमार घिमिरेज्यूले नेपालको ग्रामिण तथा दुर्गम क्षेत्रमा आफूले सफल महिला उद्यमीसँग साक्षात्कार गर्न पाएको र उनीहरु सफल हुनुमा लगनशिलताको साथै र त्याहाँको कार्यवातावरण एवं सामाजिक परिवेशले पनि साथ दिएको हुनसक्ने भन्दै नेपालमा दक्षिण एशियाका अन्य मुलुकका दाँजोमा महिलाका लागि प्रगतिशिल कानूनी व्यवस्था विद्यमान रहेकोले महिला उद्यमीले फाईदा लिनुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा दुईवटा प्रस्तुति र तीनवटा विषयगत सत्रहरु सञ्चालन गरिए । कार्यक्रममा यूनस्क्याप र यएनवुमनका तर्फबाट एक एकवटा प्रस्तुतिहरु राखिए भने संयुक्त राष्ट्र संघ पूँजी विकास कोष (यूएनसिडिएफ) का तर्फबाट च्यालेन्ज फण्ड अन्तर्गत महिला उद्मीका लागि वित्तीय तथा बजार सूचना पहुँच एवं विनिमयमा सहयोग पुग्ने मोबाईल सूचना सामग्री निर्माण गरी महिला उद्यमीलाई सहयोग पुर्याउने संस्थाद्वारा आफ्नो आयोजनाको परिचयात्मक प्रस्तुति भएको थियो ।

छलफलका लागि सञ्चालित तीनवटा विषयगत सत्रहरुमध्ये पहिलो सत्र लैंगिक उत्तरदायी उद्मशिल वातावरण विकाससँग सम्बन्धित थियो जसको अध्यक्षता मन्त्रालयका सचिव श्री चन्द्रकुमार घिमिरेज्यूले गर्नु भएको थियो । यस छलफलमा प्यानलिष्टका रुपमा नेपाल नगरपालिका संघका महासचिव श्री भीमप्रसाद ढुङ्गाना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री दिनेश भट्टराई, दक्षिण एशियाली महिला विकास फोरमकी श्री प्रमिला आचार्य रिजाल, नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष श्री शारदा रिजाल, मन्त्रालयको लैंगिक विज्ञ समूहकी अध्यक्ष चाँदनी जोशी र युवा महिला उद्यमी निरु आम्बुहाङले धारणा राख्नु भएको थियो । दोस्रो सत्र महिला उद्यमीको वित्तीय पहुँच वृद्धिसँग सम्बन्धित थियो । यस सत्रको अध्यक्षता नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री शिवराज श्रेष्टले गर्नु भएको थियो र यसमा मन्त्रालयका सहसचिव श्री रुद्रादेवी शर्मा, नेपाली व्ययवसायी महिलाहरुको महासंघकी अध्यक्ष अम्बिका श्रेष्ठ, मेगा बैंककी सहायक उपकार्यकारी निर्देशक रविना देशराज श्रेष्ठ, महिला सहयात्रा माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सुमित्रा मानन्धर, उद्यमी काश्मिरा खातुन र यूएनसिडिएफकी मोनिसा श्रेष्ठले छलफलमा प्यानलिष्टका रुपमा आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रमको अन्तिम सत्रको रुपमा महिला उद्यमशिलताका लागि सूचना एवं संचार प्रविधिको विस्तार’ भन्ने विषयवस्तुमा छलफल सञ्चालन भयो । यस सत्रको अध्यक्षता सूचना तथा प्रविधि मन्त्रालयका सहसचिव श्री वीरेन्द्र कुमार मिश्रले गर्नु भएको थियो भने कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक श्री मीनप्रसाद अर्याल, कम्प्युटर अशोसिएसनका उपाध्यक्ष सुनयना पाण्डे, सवाह नेपालका प्रमुख कार्यकारी अधिकृत रविनमान अमात्य, नेपाल महिला उद्यमी महासंघकी श्री रिता सिंह र प्रधान मन्त्री कार्यालय तथा मन्त्रीपरिषद् सचिवालयका सूचना प्रविधि विज्ञ श्री असगर अलीले प्यानलिष्टका रुपमा धारणा राख्नु भएको थियो ।

कार्यक्रममा सहभागीहरुले प्रश्न राख्नुका साथै तथा सुझाव समेत दिएका थिए । छलफलबाट महिला उद्यमशिलता प्रवर्द्धन गर्नका लागि सहयोगी घरपरिवार र लैंगिकमैत्री कार्य वातावरण र कार्यस्थल, बजार सूचनामा पहुँच, उत्पादनको वीमा, सहुलियतपूर्ण व्याजदर सहितको वित्तीय पहुँच, प्रतिस्पर्धी मूल्य श्रृङ्खलाका निम्ति उद्यमीको क्षमता अभिवृद्धि लगायतका व्यवस्था हुनु आवश्यक रहेको र यसमध्ये कतिपय व्यवस्था नेपालमा भए पनि पर्याप्त सूचना र सहयोगी वातावरणको अभावमा कार्यान्वयनको पक्ष कमजोर देखिएको जस्ता धारणाहरु प्रस्तुत भए । छलफल कार्यक्रममा सूचना प्रविधिले उपलब्ध गराएको अवसरबाट लाभ लिन महिलालाई सक्षम बनाउनु पर्ने र यसका लागि सरकार, निजी क्षेत्र, स्थापित संस्थाहरु, विकास साझेदार एवं महिला उद्यमी तथा सम्भावित महिला उद्यमी सबैले साझेदारी गर्नु आवश्यक रहेको धारणा पनि राखिएको थियो ।