नेपाल सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

सिंहदरबार, काठमाण्डौ

राष्ट्रिय बाल दिवस 2076 सम्बन्धमा

“सुनिश्चित बाल अधिकार : समृद्ध नेपालको आधार” भन्ने मूल नारासहित राष्ट्रिय बाल दिवस 2076 भव्यताका साथ सम्पन्न भयो । राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा भदौ 28 गते बालबालिकासंग राष्ट्रपति कार्यक्रम राष्ट्रपति कार्यालयमा भव्यताका साथ सम्पन्न भयो । यस कार्यक्रममा सातै प्रदेशबाट बालबालिकाका प्रतिनिधिहरुको उपस्थित थियो । बालबालिकाको तर्फबाट रोशनी कटवालले आफ्नो मन्तव्य राख्नु भएको थियो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट मुलुकको विभिन्न क्षेत्रबाट आएका बालबालिकाहरुको जिज्ञासाहरु अभिरुचिपूर्वक ग्रहण गरी आफ्ना बाल्यकालका अनुभवहरुलाई उनीहरुसमक्ष व्यक्त गर्नु भयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट बाल अधिकारका विषयहरुलाई प्राथमिकताका साथ सरकार र विकास साझेदार संस्थाहरुले अगाडि बढाउनु पर्ने धारणा व्यक्त गर्नु भयो ।

यसैगरी भदौ 28 गते साँझ विभिन्न कारणले असमयमै निधन हुनुभएका बालबालिकाको संझनामा सिनामङ्गलस्थित बालस्तम्भमा दीप प्रज्वलन गर्ने कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्रीज्यू एवम् मन्त्रालयका सचिवज्यूलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा बालबालिकाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

भदौ 29 गते राष्ट्रिय बाल दिवसको मूल समारोहको प्रमुख आतिथ्यता माननीय उप–प्रधानमन्त्री एवम् रक्षामन्त्री श्री इश्वर पोखरेलज्यूको उपस्थितिमा र माननीय मन्त्री श्री थममाया थापाज्यूको अध्यक्षतामा सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि उप–प्रधानमन्त्री तथा रक्षामन्त्रीज्यूले हालसम्म बालबालिकाको क्षेत्रमा भएका राम्रा उपलब्धीहरुको प्रसंशा गर्दै बालश्रम, बालविवाह, सडक बालबालिका, अनाथ, अपाङ्गगता भएका बालबालिकाको समस्या सम्बोधन गर्ने लगायत बालबालिकाविरुद्ध हुने शोषण, हिंसा, दुर्व्यवहार जस्ता दुष्कार्यहरु अन्त गर्नुपर्ने एवम् बालबालिका विरुद्धका सबै प्रकारका शोषण एवम् दुर्व्यवहारविरुद्ध सरकारले शून्य सहनशिलताको नीति अपनाएको जानकारी दिनु भयो । साथै, बालबालिका भविष्यका कर्णधार भएकाले बालबालिकाका विषयहरुलाई राष्ट्रले उच्च प्राथमिकता दिई लगानी गर्ने प्रतिवद्धता समारोहमा व्यक्त गर्नु भयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री, राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष एवम् बाल दिवस मूल समारोह समितिका अध्यक्ष माननीय थममाया थापाज्यूले यस वर्षको बाल दिवस सफल पार्न योगदान दिनु हुने सबैप्रति धन्यवाद दिँदै बाल अधिकार सुनिश्चितताका लागि नेपाल सरकार प्रतिवद्ध रहेको र बाल संरक्षणका गम्भीर विषयहरुलाई अभियानका साथ आगामी दिनहरुमा सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

साथै आजको राष्ट्रिय बाल दिवस भव्य रुपमा मनाउन सहयोग गर्नु हुने सवैलाई धन्यवाद दिदै बाल संरक्षण र अधिकारको विषयमा अनवरत योगदान पु¥याउने संघ, प्रदेश र स्थानीय सरकार लगायत यस क्षेत्रमा क्रियाशिल विकास साझेदार, नागरिक समाज, निजी क्षेत्र र अन्य सबै सरोकारवालाहरुलाई हालसम्मको उपलब्धिका लागि बधाई दिँदै आउँदा दिनहरुमा बालबालिकाका लागि अझबढी क्रियाशिल हुन सबै सरोकारवालाहरुलाई आह्वान गर्नु भयो ।

यस कार्यक्रममा मन्त्रालयका सचिव श्री चन्द्र कुमार घिमिरेज्यूले उक्त समारोहमा उपस्थित सबै महानुभावहरुलाई स्वागत गर्दै बालबालिकाको विषयमा हालसम्म भए गरेका प्रयास एवम् उपलब्धीहरु लगायत बाल अधिकार सुनिश्चितका लागि देखापरेका समस्या र चुनौतीहरु सम्बन्धमा जानकारी गराउनु भयो । वहाँले नेपाल सरकारबाट बाल अधिकार संरक्षण र प्रवर्द्धनका लागि अवलम्बन गर्ने नीति तथा कार्यक्रम एवम् मन्त्रालयको तर्फबाट बालबालिकाका लागि गर्नुपर्ने कार्यहरुको प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । यस कार्यक्रममा विभिन्न सरकारी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरु, सातै प्रदेशका बालबालिकाको प्रतिनिधिहरु लगायत सञ्चारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो।

मिति: 2076/05/29 गते


पृथ बहादुर के.सी.
उप-सचिव एवं सहायक प्रवक्ता
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय