महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व अष्टमी - ८

माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठज्यू अमेरिकी राजदुतज्यूसँग शिष्टाचार भेट गर्नुहुदै

माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठज्यू अमेरिकी राजदुतज्यूसँग शिष्टाचार भेट गर्नुहुदै

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय श्रद्धा श्रेष्ठज्युले मिति २०८२/०९/०७ गतेका दिन नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत महामहिम डिन आर. थम्पसनसँग शिष्टाचार भेटवार्ता गर्नुभयो।

भेटका क्रममा माननीय मन्त्रीज्यू र राजदूतज्यूबीच नेपालले मानव बेचबिखन विरुद्ध गरेका प्रयासलाई सुदृढ बनाउने विषय अन्तर्गत मन्त्रिपरिषदमा  पेश गरिएको १० वर्षे राष्ट्रिय कार्ययोजना तथा टीआईपी (TIP) प्रतिवेदनमा उठाइएका  चिन्ताजनक विषयहरू सम्बोधन गर्ने उपायहरूबारे गहन छलफल भयो। साथै, मन्त्रीज्यूले मानव बेचबिखनबाट उद्दार गरिएका पीडित बालबालिका तथा  महिलाहरुका लागि सातै प्रदेशमा स्थापना गरिएका १० वटा आश्रय गृहहरूको जानकारी दिनुहुँदै पुनः बेचबिखन रोकथाम र पीडितहरूको सामाजिक स्वीकार्यता प्रवर्द्धन गर्न चालिएका सचेतना अभियानबारे पनि अवगत गराउनुभयो।

यसका साथै माननीय मन्त्रीज्यू र राजदूतज्यूबीच आगामी निर्वाचनलाई अझ समावेशी बनाउने विषय केन्द्रित रहेर पनि छलफल भयो । माननीय मन्त्रीज्यूले  महिलाको मतदाता सहभागिता बढाउन, प्रत्यक्ष निर्वाचनमा महिलाको उम्मेदवारी प्रवर्द्धन गर्न, साथै ज्येष्ठ नागरिक र सीमान्तकृत समुदायको सहभागिता सुनिश्चित गर्न निर्वाचन आयोग, नागरिक समाज तथा विकास साझेदारहरूसँग समन्वय गर्दै  सरकार अगाडी बढिरहेको  जानकारी दिनुभयो। उहाँले विशेषगरी पहिलो पटक निर्वाचन आयोगमा एलजीबीटीक्यू (LGBTQ) समुदायको प्रतिनिधित्व भएको उपलब्धि माथि प्रकाश पार्नुहुदै  निर्वाचन अभियानमा बालबालिकाको संलग्नता रोक्न चालिएका उपायहरूको बारेमा पनि उल्लेख गर्नुभयो।

महामहिम राजदूतज्यूले पनि Tier 2 Watch List को दर्जाबाट नेपाललाई हटाउनका लागि भईरहेका प्रगतिका प्रयासहरुबारे  पैरवी गर्न सहयोग गर्ने आश्वासनका साथै मानव बेचबिखन (TIP) विरुद्धको कार्यका लागि तथ्यांक संकलन र तथ्यांकको एकरूपता सुनिश्चित गर्न साझा प्लेटफर्मका रूपमा मन्त्रालयले  विकास गरेको  सामाजिक सूचना व्यवस्थापन प्रणाली ( SIMS)लाई थप सुदृढ बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

महामहिम राजदूतज्यूले UN Women तथा अन्य विकास साझेदारहरूमार्फत निरन्तर सहकार्यका सम्भावनाहरू खोज्न देखाउनुभएको सकारात्मक संलग्नताप्रति माननीय मन्त्रीज्यूले प्रशंसा व्यक्त गर्नुभयो र नेपालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको अधिकार, सुरक्षा र सहभागिता अभिवृद्धि गर्न दुवै देश  पुन प्रतिवद्ध हुँदै बैठक अत्यन्तै सकारात्मक वातावरणमा सम्पन्न भयो ।