प्रेस विज्ञप्ति: विषयगत समिति बैठक, २०८३
प्रेस विज्ञप्ति
आज मिति २०८३/०१/१६ गते संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ बमोजिम गठित विषयगत समितिको बैठक समितिका अध्यक्ष एवम् माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भयो।बैठकमा कोशी प्रदेशका सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री रामप्रसाद महतो, बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री कञ्चन चन्द्र बादे, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री जन्मजय तिमिल्सिना, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री घनश्याम भण्डारी, राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष कमला पराजुली, राष्ट्रिय महिला आयोगका माननीय सदस्य कृष्ण कुमारी पौडेल खतिवडा, राष्ट्रिय समावेशी आयोगका माननीय सदस्य पुष्पराज तिमिल्सिना, राष्ट्रिय योजना आयोगका माननीय सदस्य रेशु अर्याल ढुङ्गाना र समितिको सदस्य तोकिनु भएका जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो लगायतको उपस्थिति रहेको थियो।
सात वटै प्रदेश सरकारका सम्बन्धित विषयक्षेत्र हेर्ने मन्त्रालयका प्रदेश सचिव, सरोकारवाला सङ्घीय निकायका प्रतिनिधि, जिल्ला समन्वय समिति महासंघका प्रतिनिधि सहितको उपस्थिति रहेको उक्त बैठकमा विषयगत समितिको बैठक सञ्चालन सम्बन्धी कार्यविधि,२०८३ स्वीकृत गरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण भएका कार्यक्रमहरुको प्रगति, मन्त्रालयसँग सम्बन्धित कानून एवम् प्रस्तावित विषय उपर छलफल भई कार्यान्वयनका लागि तीनवटै तहहरुबीच समन्वय र सहकार्य गर्ने सहमति भयो।
समितिको बैठकमा छलफलका लागि प्रस्तावित विषयहरु अपाङ्गता अधिकार, ज्येष्ठ नागरिक संरक्षण, गैरसरकारी संस्था परिचालन, हवाई उद्धार कार्यक्रम, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा निवारण, महिला विकास तथा लैङ्गिक मूलप्रवाहीकरण, स्थानीय र प्रदेश बाल अधिकार समितिको गठन र क्रियाशीलता, बालकल्याण अधिकारीको व्यवस्था र परिचालन, बालविवाह अन्त्यको रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२, बाल सुधार गृह व्यवस्थापन, बाल गृहको अनुगमन र नियमन, बालबालिका उत्तरदायी बजेट कोडको कार्यान्वयन सम्बन्धमा छलफल भई निकायगत एवं तहगत रुपमा समन्वय र सहकार्य गर्ने निर्णय भयो।
समितिका अध्यक्ष एवं माननीय मन्त्रीज्यूले समितिको बैठकबाट भएका निर्णयहरुको कार्यान्वयनमा सक्रियताका लागि सबैलाई अनुरोध गर्दै निर्णयहरुको प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो। साथै, बैठकमा सहभागि सबैलाई सक्रिय, रचनात्मक एवं विषयवस्तु केन्द्रित सहभागिताका लागि धन्यवाद व्यक्त गर्दै बैठकको समापन गर्नुभयो।
बैशाख १६, २०८३
नेपाल सम्वत् ११४६
( चक्र बहादुर बुढा)
सहसचिव/प्रवक्ता