आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूको शुभकामना सन्देश।

शुभकामना

महिला अधिकारको सम्मानः आत्मनिर्भरता समृद्धिको अभियानभन्ने नारासहित २०८३ जेठ १६ गते आठौँ राष्ट्रिय महिला अधिकार दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली महिला दिदीबहिनी तथा महिला हक, अधिकारको संरक्षण, संवर्द्धन प्रवर्द्धनका क्षेत्रमा क्रियाशील सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्दै समानुपातिक, समावेशी तथा समतामूलक समाज निर्माण गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ। संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरी राज्यका सबै निकाय तथा संरचनामा महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व तथा अर्थपूर्ण सहभागितालाई प्रत्याभूत गरेको भने महिलाको आर्थिक, सामाजिक, राजनीतिक तथा शैक्षिक सशक्तीकरणलाई राज्यको नीतिगत प्राथमिकताका रूपमा अङ्गीकार गरेको छ। राज्यद्वारा अवलम्बन गरिएको समावेशी नीति तथा कार्यक्रमहरूको परिणामस्वरूप राज्यका विभिन्न अङ्ग, क्षेत्र तथा निकायहरूमा महिलाको प्रतिनिधित्व सहभागितामा उल्लेखनीय वृद्धि हुनुका साथै लैङ्गिक समानता, महिला सशक्तीकरण तथा लैङ्गिक विकास सूचकाङ्कमा समेत क्रमिक सुधार देखिएको छ।

यद्यपि, सबै प्रकारका लैङ्गिक हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै महिला सशक्तीकरण तथा न्यायपूर्ण समाज निर्माणमा बाधकका रूपमा रहेका पितृसत्तात्मक सोच, बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकजस्ता कुप्रथा एवं लैङ्गिक, घरेलु तथा डिजिटल हिंसाको अन्त्य गर्न कानुनी उपचारसँगै सामाजिक चेतना अभिवृद्धि लैङ्गिकमैत्री व्यवहारको विकासका लागि देशव्यापी अभियान सञ्चालन गर्न आवश्यक देखिन्छ।

अन्त्यमा, समतामूलक समाज निर्माणका लागि सरकारले महिलाको सर्वाङ्गीण उत्थान तथा सशक्तीकरणमा विशेष ध्यान दिँदै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण भेदभाव अन्त्य गर्ने नीति अवलम्बन गर्नेछ। आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तीकरणमार्फत प्रतिस्पर्धात्मक क्षमता विकास, महिलामैत्री व्यवहार संस्कृतिको निर्माण गर्न एकजुट भएर लाग्न सम्पूर्ण देशवासी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आह्वान गर्दछु।

धन्यवाद।
१६ जेठ२०८३
ने.सं. ११४६ अनालाथ्व चतुर्दशी                                                         

 

वालेन्द्र शाह