प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
आज मिति २०८३ जेठ ४ गते माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीसँग नेपालका लागि नर्वेका महामहिम राजदूत Dagny Mjøs ले मन्त्रालयमा शिष्टाचार भेटघाट गर्नुभयो। भेटका क्रममा माननीय मन्त्री बादीले नेपाल र नर्वेबीच मैत्रीपूर्ण, सौहार्दपूर्ण र सहकार्यमा आधारित सम्बन्ध रहँदै आएको उल्लेख गर्दै नर्वे नेपालको महत्वपूर्ण विकास साझेदार रहेको र नेपालको सुशासन, जलवायु तथा वातावरण, लैङ्गिक समानता र समावेशी विकासका क्षेत्रमा नर्वे सरकारले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।
उक्त भेटका अवसरमा माननीय मन्त्री बादीले महिला सशक्तीकरण, बाल अधिकार संरक्षण, ज्येष्ठ नागरिकको सम्मानजनक जीवन, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको समावेशीकरण, सामाजिक सुरक्षा, लैङ्गिक उत्तरदायी बजेट, बालविवाह अन्त्य, मानव बेचबिखन रोकथाम, महिला नेतृत्व प्रवर्द्धन तथा अन्तरसरकारी समन्वयका क्षेत्रमा सहकार्यलाई थप परिणाममुखी बनाउन मन्त्रालय इच्छुक रहेको बताउनुभयो। साथै, उहाँले जलवायु परिवर्तनले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायमा प्रतिकूल प्रभाव पारिरहेको उल्लेख गर्दै जलवायु संवेदनशील सामाजिक सुरक्षा, महिला तथा बालमैत्री सेवा प्रणाली र स्थानीय तहमा समावेशी क्षमता विकासका क्षेत्रमा नेपाल र नर्वेबीच नयाँ सहकार्यका सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो।
उक्त भेटमा महामहिम राजदूत Dagny Mjøs ले नेपालको कानुनी व्यवस्था, महिला सशक्तीकरण, संसदमा महिलाको प्रतिनिधित्व तथा लैङ्गिक समानताको क्षेत्रमा भइरहेका प्रयासप्रति सकारात्मक धारणा व्यक्त गर्दै सामाजिक न्याय, समानता र समावेशीकरणको क्षेत्रमा नर्वेको Nordic Welfare Model, बालबालिकालाई हिंसा, दुर्व्यवहार र बेवास्ताबाट संरक्षण गर्ने बाल संरक्षण प्रणाली, पूर्ण रूपमा शारीरिक वा मानसिक रूपमा अशक्त वृद्धवृद्धाका लागि सम्मानजनक सरकारी नर्सिङ होमको व्यवस्था तथा आत्मअनुभूतिका आधारमा कानुनी रूपमा लिङ्ग परिवर्तन गर्न सक्ने सरल व्यवस्थाजस्ता अभ्यासहरूबाट नेपालले पनि उपयोगी सिकाइ लिन सक्ने बताउनुभयो। साथै उहाँले नेपाल र नर्वेबीचको मित्रता र सहकार्यलाई अझ गहिरो बनाउँदै लैङ्गिक समानता, सामाजिक न्याय, समावेशी विकास, जलवायु उत्थानशीलता र मानव अधिकारका साझा एजेन्डामा सहकार्य गर्न नर्वे इच्छुक रहेको बताउनुभयो। उक्त भेटमा मन्त्रालयका कर्मचारीहरु र नर्वे दूतावासका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
जेठ ४, २०८३
नेपाल सम्वत् ११४६
(मिलन भट्टराई)
उपसचिव/सहायक प्रवक्ता