प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

आज मिति २०८३ वैशाख २४ गते माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग नेपालका लागि युरोपियन युनियनका महामहिम राजदूत H.E. Ms. Veronique Lorenzo ले मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो। उक्त भेटवार्तामा नेपाल र युरोपियन युनियनबीच रहिआएको मैत्रीपूर्ण तथा सहकार्यात्मक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भयो।

उक्त भेटका अवसरमा माननीय मन्त्री बादीले नेपाल सरकार महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा जोखिममा रहेका समुदायहरूको अधिकार संरक्षण, सशक्तीकरण र समावेशी विकासप्रति प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले महिला सशक्तीकरण, बाल अधिकार संरक्षण, लैङ्गिक समानता, बालविवाह अन्त्य, मानव बेचबिखन रोकथाम, अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त सेवा, ज्येष्ठ नागरिकको सम्मानजनक हेरचाह तथा सामाजिक समावेशीकरणका क्षेत्रमा युरोपियन युनियनसँगको सहकार्य थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

भेटमा माननीय मन्त्री बादीले स्थानीय महिला उद्यमशीलता प्रवर्द्धन, जोखिममा रहेका बालबालिकाको संरक्षण, सडक बालबालिकामुक्त अभियान, ज्येष्ठ नागरिकका लागि हेरचाह प्रणाली सुदृढीकरण तथा Gender Equality, Disability, and Social Inclusion (GEDSI) को क्षेत्रमा सम्भावित सहकार्यबारे उल्लेख गर्नुभयो। उहाँले Women Empowerment, Prosperous Nepal को दृष्टिकोणलाई अघि बढाउन अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्य महत्वपूर्ण हुने बताउनुभयो।

सो अवसरमा युरोपियन युनियनका महामहिम राजदूतज्यूले नेपालको सामाजिक तथा मानव विकासका क्षेत्रमा युरोपियन युनियनको सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको संरक्षण, क्षमता अभिवृद्धि र समावेशी विकासका प्रयासमा सहकार्य थप सुदृढ बनाउन युरोपियन युनियन सकारात्मक रहेको उल्लेख गर्नुभयो।

त्यसैगरी भेटमा माननीय मन्त्री बादीले नेपाल र युरोपियन युनियनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप परिणाममुखी बनाउन मन्त्रालयले आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वैशाख २४, २०८३

नेपाल सम्वत् ११४६

                                                                 (चक्र बहादुर बुढा)

                                                                 सहसचिव/प्रवक्ता