जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा माननीय मन्त्री सिता बादीज्यूको शुभकामना सन्देश।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३ को अवसरमा
शुभकामना सन्देश
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु। वि.सं. २०६३ साल जेठ २१ गते तत्कालीन प्रतिनिधिसभाले नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरी नेपाली समाजलाई समानता र सम्मानको मार्गतर्फ अघि बढाउने ऐतिहासिक संकल्प व्यक्त गरेको थियो।आजको दिनलाई नेपालको सामाजिक रूपान्तरण, समानता र सामाजिक न्यायको यात्रामा एउटा ऐतिहासिक दिनको रूपमा स्मरण गरिन्छ। यो दिवस एउटा घोषणाको सम्झना मात्र होइन, संविधानले परिकल्पना गरेको समानतामूलक, समावेशी र न्यायपूर्ण समाज निर्माणप्रतिको हाम्रो साझा प्रतिबद्धतालाई पुनः स्मरण गर्ने महत्वपूर्ण दिन पनि हो।यस अवसरमा म न्याय, समानता र सम्मानका लागि निरन्तर संघर्षरत दलित समुदायका अग्रज, सामाजिक अभियन्ता, अधिकारकर्मी तथा परिवर्तनका लागि संघर्ष गर्नुभएका सम्पूर्ण व्यक्तित्वप्रति उच्च सम्मान व्यक्त गर्दछु। उहाँहरूको त्याग, साहस र योगदानले नै नेपालको सामाजिक न्यायको आन्दोलनलाई बलियो बनाएको छ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरी जातीय छुवाछूत तथा भेदभावलाई पूर्ण रूपमा निषेध गरेको छ। संविधानले दलित समुदायको समान सहभागिता, सामाजिक न्याय, सामाजिक सुरक्षा तथा सशक्तीकरणलाई राज्यको दायित्वका रूपमा स्थापित गरेको छ। यसैगरी जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ ले जातीय छुवाछूत तथा भेदभावलाई कानुनी अपराधका रूपमा परिभाषित गरेको छ।कानूनी सुधारसँगसँगै मानवीय व्यवहार, सोच, संस्कार र सामाजिक सम्बन्धहरूमा परिवर्तन गरी समानताको वास्तविक अनुभूति हुने गरी समाजको रूपान्तरण आजको आवश्यकता हो।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय नीतिगत एवं कानूनी सुधार र वार्षिक बजेट तथा कार्यक्रमको माध्यमबाट सामाजिक न्याय, समानता र समावेशी विकासलाई सुदृढ बनाउन प्रतिवद्ध छ।दलित समुदायको अधिकार सुनिश्चित गर्न राष्ट्रिय दलित आयोग लगायत सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गरी मन्त्रालयले आफ्नो भूमिका थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दछु।
जातीय छुवाछूतको अन्त्य बिना सामाजिक न्याय सम्भव छैन, सामाजिक न्याय बिना समृद्धि सम्भव छैन र समानता बिना लोकतन्त्र पूर्ण हुन सक्दैन। विभेदमुक्त, सम्मानपूर्ण, समावेशी र समतामूलक समाज निर्माणको अभियानमा सबै नागरिक एकजुट हुन आवश्यक छ। यस ऐतिहासिक दिवसको अवसरमा सम्पूर्ण नेपाली नागरिकलाई जातीय छुवाछूत तथा सबै प्रकारका विभेदविरुद्ध दृढतापूर्वक उभिन, सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हार्दिक आह्वान गर्दछु।
धन्यवाद,
२१ जेठ, २०८३
(सिता बादी)
मन्त्री