आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा माननीय मन्त्री सिता बादीज्यूको शुभकामना सन्देश।

आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा

शुभकामना सन्देश

नेपाली महिलाहरुको अधिकार स्थापित गर्ने सवालमा महत्वपूर्ण दिनको रुपमा स्मरण गर्दै "महिला अधिकारको सम्मानः आत्मनिर्भरता र समृद्धिको अभियान" भन्ने नारा सहित आज आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुहुने सबै नेपाली दिदीबहिनी लगायत महिला अधिकारको क्षेत्रमा कार्यरत सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

वि.स. २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव मार्फत आमा वा बाबुको नामबाट सन्तानले नागरिकता पाउने, समानुपातिक सहभागिताको लागि कम्तिमा एक तिहाइ महिलालाई राज्यको सबै संरचनामा सहभागिताको सुनिश्चितता गराउने, विभेदकारी कानूनको खारेजी तथा महिलामाथि हुने हिंसाको अन्त्य गराउने विषय पारित भएको दिनको स्मरण गर्दै राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो।महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्न, विभिन्न नीतिगत तथा संरचनागत प्रयासबाट सारभूत समानता कायम गर्न,  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यास र प्रयासहरुलाई सुदृढिकरण गर्न यस दिवसले थप उर्जा प्रदान गरेको छ। नेपालको संविधानले महिला सहभागिताको सुनिश्चितता गरे अनुरुप स्थानीय तह, प्रदेश सभा, वर्तमान संघीय संसद र नेपाल सरकारको मन्त्रिपरिषद्‍मा समेत महिलाको सहभागिता हुनु उल्लेखनीय उपलब्धी रहेको छ ।

नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्ने संकल्प सहित महिलालाई लैङ्गिक भेदभाव विना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्थ सम्वन्धी हक, राज्यका सवै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक लगायतका मौलिक हकको प्रत्याभुति गरेको छ। वर्तमान संवैधानिक, कानूनी तथा संरचनात्मक व्यवस्थाको फलस्वरुप जननिर्वाचित संस्था, सरकारी सेवा लगायत राज्यका सबै निकायमा महिलाको पहुँच तथा सहभागितामा देख्‍न सकिने गरी सुधार भएको पाइन्छ। मातृ मृत्युदरमा कमी, महिलाको कूल साक्षरता दरमा वृद्धि, महिला उद्यमशिलता विकास लगायतका सूचकहरुमा सकारात्मक परिवर्तन भइरहेको छ। मन्त्रालयको कार्यक्षेत्रमा भएको बढोत्तरीको कारण महिलाका साथै अन्य सामाजिक सुरक्षाका क्षेत्रमा कार्य गर्न थप सहज समेत बनाएको छ।

तथापि बालबिवाह, लैङ्गिक हिंसा, घरेलु हिंसा तथा परम्परागत हानिकारक अभ्यासका शेषहरु समाजमा कायमै रहनुले महिला सशक्तीकरण र न्यायपूर्ण समाज निर्माणमा अवरोध पुर्‍याएको छ।महिलाको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न सकिदैन जसलाई पूरा गर्न तीनै तहका सरकारले नीति, योजना र कार्यक्रम तय गरी समन्वयात्मक रुपमा अघि बढ्न हार्दिक आह्वान गर्दछु।

अन्त्यमा, महिला हक अधिकार स्थापनाको लागि आधार तय भएको दिनको रुपमा राष्ट्रिय महिला अधिकार दिवस मनाउन सबैमा हार्दिक अनुरोध गर्दै सारभूत समानता सहितको राष्ट्र निर्माणको यात्रामा अघि बढ्न आजको दिनले सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु । 

धन्यवाद,                                                                 

१६ जेठ, २०८३

सिता बादी

मन्त्री