प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
आज मिति २०८३ बैशाख २३ गते (तदनुसार ६ मे,२०२६) माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत H.E. Mr. Zhang Maoming ले मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो।उक्त भेटवार्तामा नेपाल र चीनबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भयो।
उक्त भेटका अवसरमा माननीय मन्त्री बादीले नेपाल 'एक चीन नीति' प्रति दृढ प्रतिबद्ध रहेको उल्लेख गर्दै चीनसँगको सहकार्यलाई सामाजिक विकास, महिला सशक्तीकरण, बाल अधिकार संरक्षण, ज्येष्ठ नागरिक सेवा र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका क्षेत्रमा विस्तार गर्न सकिने बताउनुभयो। भेटमा स्थानीय नेपाली महिलाद्वारा उत्पादित सामग्रीको प्रवर्द्धन तथा बजार पहुँच, नमुना ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना, अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष सेवा तथा सहायक सामग्री उपलब्धता र Gender Equality, Disability, and Social Inclusion (GEDSI) को क्षेत्रमा छात्रवृत्ति तथा क्षमता विकासका विषयमा सम्भावित सहकार्यबारे छलफल गर्नुभयो।
सो अवसरमा चीनका महामहिम राजदूतले नेपाल र चीनबीच रहिआएको ऐतिहासिक, मैत्रीपूर्ण तथा पारस्परिक विश्वासमा आधारित सम्बन्धलाई उच्च महत्व दिँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षण, सशक्तीकरण र समावेशी विकासका क्षेत्रमा नेपाल सरकारसँगको सहकार्यलाई थप सुदृढ गर्दै लैजान चीन सरकार प्रतिबद्ध रहेको कुरा व्यक्त गर्नुभयो।
त्यसैगरी भेटमा माननीय मन्त्री बादीले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप परिणाममुखी बनाउन मन्त्रालयले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वैशाख २३, २०८३
नेपाल सम्वत् ११४६
(चक्र बहादुर बुढा)
सहसचिव/प्रवक्ता