राष्ट्रिय ज्येष्ठ नागरिक नीति मस्यौदा, २०८३

 

विषय सूची

परिच्छेद 1: परिचय.......................................................................................1

    1. पृष्ठभूमि…………………………………………………………………….1
    2. समस्या तथा चुनौती र नयाँ नीतिको आवश्यकता………………………….2
  • समस्याहरु……………………………………………………………...2
  • चुनौतीहरु……………………………………………………………….3
  •  नयाँ नीतिको आवश्यकता……………………………………………….3

परिच्छेद 2: नीति संरचना………………………………………………………………..4

    1. दूरदृष्टि…………………………………………………………………..4
    2. ध्येय…………………………………………………………………… 4
    3. लक्ष्य…………………………………………………………………….4
    4. उद्देश्य…………………………………………………………………. 4
    5. नीति…………………………………………………………………… 5
    6. रणनीति………………………………………………………………….6
    7. कार्यनीति………………………………………………………………...7

परिच्छेद 3: नीति कार्यान्वयन…………………………………………………………….14

    1. संस्थागत व्यवस्था………………………………………………………14
    2. कानुनी व्यवस्था…………………………………………………………15
    3. वित्तीय व्यवस्था…………………………………………………………15
    4. नीति समन्वय र सामञ्जस्य………………………………………………15
    5. जोखिम पहिचान र व्यवस्थापन………………………………………….16
    6. अनुगमन र मूल्याङ्कन तथा नीति पुनरावलोकन…………………………..17
    7. नीति कार्यान्वयन कार्ययोजना…………………………………………….17
    8. नीति खारेजी र बचाउ……………………………………………………17

अनुसूची-1: नीति कार्यान्वयन कार्ययोजना...........................................................

 
 

 

राष्ट्रिय ज्येष्ठ नागरिक नीति मस्यौदा, 2083

 

परिच्छेद1: परिचय

 

१.1 पृष्ठभूमि:

 

      ज्येष्ठ नागरिक राष्ट्र र समाजका पथ प्रदर्शक,  ज्ञान,  सीप र अनुभवका खानी एवं जिउँदो इतिहासको रूपमा रहेका छन्। घट्दो जन्मदर, स्वास्थ्य सेवाको विकास तथा स्वास्थ्यमा पहुँच, जीवनस्तरमा आएको सुधार र औषत आयुको बृद्धिले गर्दा ज्येष्ठ नागरिकको जनसंख्या विश्वमा तीव्र रुपमा बढ्दै गएको छ। नेपालमा वि.सं. 2048 मा ज्येष्ठ नागरिकको संख्या ५.7% रहेकोमा वि.सं. 2078 सम्म आइपुग्दा यो बढेर १०.२१% पुगेको देखिन्छ। तथ्याङ्क अनुसार राष्ट्रिय जनसंख्या वृद्धिदर (०.९२%) को तुलनामा ज्येष्ठ नागरिकको झण्डै साढे तीन गुणा बढी हुनुले नेपाली समाज द्रुत गतिमा बुढ्यौलीतर्फ गइरहेको संकेत गर्छ।ज्येष्ठ नागरिकको जनसंख्या बृद्धि र यसको व्यवस्थापन हाम्रो सामु चुनौतीको रुपमा देखापरेको छ।यसले नेपालमा पनि बिस्तारै 'हेरचाह सेवा (Care Service) 'हेरचाह उद्योग' (Care Industry) को आवश्यकता र महत्व बढ्दै गएको पुष्टि गर्छ। यस सन्दर्भमा ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई मुलुकको विकासको लागि उपयोग गर्न सके राष्ट्रिय विकासमा उच्च योगदान पुग्नुका साथै दिगो विकासका लक्ष्य प्राप्त गर्न, संघ, प्रदेश,र स्थानीय तहबीचको समन्वय र सहकार्य हुन जरुरी देखिन्छ। यसैगरी राज्यका तीनवटै तहमा ज्येष्ठ नागरिकमैत्री व्यवस्थालाई संस्थागत गर्न, तीन तहका सरकारबाट तर्जुमा हुने योजना, नीति तथा कार्यक्रम, वार्षिक बजेटमा समावेश गरी उनीहरुको जीवन सहज, सुरक्षित एवम् सम्मानित बनाई सामाजिक न्याय कायम गर्नु पर्ने आवश्यकता देखिएको छ।

                जीवनको विभिन्न कालखण्डमा आफ्नो उर्जाशील समय कुनै न कुनै तरिकाबाट राष्ट्र, समाज र परिवारको लागि व्यतित गरेर जीवनको उत्तरार्द्धमा रहेका ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षाको प्रत्याभूति दिनु राज्यको संवैधानिक दायित्व हुने कुरालाई दृष्टिगत गर्दै नेपालको संविधानको धारा ४१ ले मौलिक हकको रूपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ। संविधानले ज्येष्ठ नागरिकको विषयलाई नजिकबाट सहज रूपमा सम्बोधन गर्न स्थानीय तहको क्षेत्राधिकारमा सूचीकृत गरिएको छ। यसको कार्यान्वयको लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहलाई स्पष्ट व्यवस्था गरिएको छ। त्यसै गरी ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरूमा रहेको ज्ञान, सीप र अनुभवको सदुपयोग गर्दे राष्ट्रिय हीतमा पनि लगाउन सकिने र ज्येष्ठ नागरिककोसक्रिय जीवनयापन गर्न प्रोत्साहित गर्ने। ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ तथा ज्येष्ठ नागरिक नियमावली, २०६५ लगायतका कानूनहरू कार्यान्वयनमा न्

      ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा पहुँचका साथै विशेष उपचार प्रदान गर्न ज्येष्ठ नागरिक बीमामा सरकारले प्रिमियमको व्यवस्था, जेरियाट्रिक वार्डको व्यवस्था, सरकारी अस्पतालमा निश्चित वार्ड सुरिक्षत गर्नुपर्ने  र निश्चित रोगको उपचारमा छुटको व्यवस्था गरेको छ। ज्येष्ठ नागरिकको जीवन सहज, व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहमा ज्येष्ठ नागरिक हेरचाह केन्द्र दिवा सेवा केन्द्र/मिलन केन्द्र सञ्चालन गर्ने व्यवस्था रहेको छ।ज्येष्ठ नागरिकहरु लाई भत्ता वितरण कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन वैंकिङ सेवाको विस्तार र पहुचँलाई सामाजिक सुरक्षा कार्यक्रमसँग आवद्धता गरिएको छ।ज्येष्ठ नागरिकको लगत अद्यावधिक, परिचय पत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन भएको छ

      ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्न र असहाय अशक्त, एकल र जोखिममा परेमा ज्येष्ठ नागरिकको विशेष संरक्षण र सुरक्षाको कानूनी तथा संस्थागत व्यवस्था गर्न एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ज्येष्ठ नागरिकको मुद्दालाई सम्बोधन गर्ने सम्बन्धमा चलिरहेको वहस, लक्ष्य, उद्देश्य सहित तर्जुमा भएका कानुन, अन्तर्राष्ट्रिय स्तरमा भएका प्रतिबद्धता समेतलाई दृष्टिगत गर्दै ज्येष्ठ नागरिकलाई प्रदान गरिएको अधिकारको यथोचित सम्बोधन र व्यवस्थापन हुनु पर्ने देखिन्छ।

१.समस्या तथा चुनौती नयाँ नीतिको आवश्यकता

 

(क) समस्याहरुः-

ज्येष्ठ नागरिक सम्बन्धी  देखिएका प्रमुख समस्याहरु देहायबमोजिम रहेको पाइन्छ।

  1. ज्येष्ठ नागरिक माथि उमेर बढेसगै लाग्ने विभिन्न रोगका कारण उपचारमा आर्थिक भार
  2.  नियमित आम्दानी नहुँदा दैनिक जीवन चलाउन कठिन हुने।
  3.  ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप  अनुभवलाई राष्ट्रले उपयोग गर्न तथा नयाँ पीढिमा हस्तान्तरण गर्न नसक्नु।
  4.  शारीरिक र मानसिक रूपमा अशक्त, असहाय, एकल, वेवारिसे तथा पीडामा परेका ज्येष्ठ नागरिकको उचित संरक्षण हुन नसक्नु।
  5.  सन्तान अर्थात् परिवारका सदस्यहरूमा बाबु, आमाप्रति पूरा गर्नु पर्ने दायित्व, जिम्मेवारी निर्वाह गर्न नसक्नु।
  6. ज्येष्ठ नागरिकका सवाललाई मुलुकको समग्र उधमशिल योजना व्यवस्थापनमा समाहित गरी ज्येष्ठ नागरिकलाई उत्पादन तथा उत्पादकत्वसँग जोड्न नसक्नु।

 

 

 

 

(ख) चुनौतीहरुः-

   नेपालमा ज्येष्ठ नागरिकको विद्यमान अवस्थालाई दृष्टिगत गर्दा देहायका चूनौतीहरु पाईन्छ।

  1. संविधानले प्रत्याभूत गरे बमोजिम ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा    सामाजिक सुरक्षाको हक हुने कार्य गर्नु।
  2. अन्तरपुस्ता बिच ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्न मानव पूँजीको रुपमा उपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्ने आधार निर्माण गर्नु र मर्यादित जीवन सुनिश्चित गर्न सामाजिक सुरक्षाको भरपर्दो व्यवस्था मिलाउनु।
  3. ज्येष्ठ नागरिकको बढ्दो जनसंख्यालाई व्यवस्थित गर्दै उनीहरूको आवश्यकता अनुरूप सेवा सुविधा प्रदान गर्नु।
  4. ज्येष्ठ नागरिकमाथि हुने हिंसा र दुर्व्यवहारको अन्त्य गर्नु।
  5. ज्येष्ठ नागरिकको आर्थिक तथा सामाजिक हक अधिकारको संरक्षण गर्नु।
  6. ज्येष्ठ नागरिकको लागि उपयुक्त दिवा सेवा, हेरचाह केन्द्र र आवश्यकता अनुसार औषधी उपचारसहितको सातै प्रदेशमा आरोग्य आश्रमको निर्माण र सञ्चालन गर्नु।
  7. विपद्मा ज्येष्ठ नागरिकको उद्धार र पुनःस्थापनालाई प्राथमिकता दिनु।
  8. ज्येष्ठ नागरिक समाजका अग्रणी तथा सांस्कृतिक गहना हुन उनीहरूको सम्मान गरेमा मात्र समाजको पहिचान रहन्छ भन्ने बुढ्यौली एवंम नागरिक शिक्षामा युवापुस्ता माझ स्थापित गर्नु।

 

(ग) नयाँ नीतिको आवश्यकताः-

      ज्येष्ठ नागरिकको सन्दर्भमा गरिएका वैश्विक प्रतिवद्धताको कार्यान्वयन गर्न, ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान सबै प्रावधान, ज्येष्ठ नागरिकका क्षेत्रमा विकास हुँदै गएका नविनतम अवधारणा, पद्धति र प्रणाली लाई मूलुकको परिवेशमा समय सापेक्ष अनुकुल र उपयुक्त बनाउन आवश्यक रहेको छ।ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरु प्रति श्रद्धा, आदर तथा सद्‍भावको अभिवृद्धि गदै नेपालको संविधान बमोजिम मौलिक हकको प्रभावकारी कार्यान्वयनलाई दिशानिर्देश गर्न आवश्यक रहेको छ।संविधान बमोजिम संघ, प्रदेश, स्थानीय तहमा ज्येष्ठ नागरिक सम्बन्धी कार्य गर्ने संघ, संस्थाबीच समन्वय कायम गरी मानव अधिकारको रक्षाका लागि व्यवस्थित, योजनावद्ध तथा परिणाममुखी तरिकाले ज्येष्ठ नागरिकको समस्या सम्बोधन एवंम जिम्मेवारपुर्ण उत्तरदायी भूमिका निर्वाह गर्नुका साथै ज्येष्ठ नागरिकहरूको ज्ञान, सीप र अनुभवलाई सामाजिक र आर्थिक विकासका कार्यमा उपयोग गरी प्रविधिको विकास संगै सक्रिय बुढ्यौलीका लागि  उनीहरूको जीवनयापन सहज, सुरक्षित, मर्यादित र अधिकारमुखी बनाउन यस राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको आवश्यकता देखिएको छ।

 

 

 

 

परिच्छेद 2: नीति संरचना

 

२.१. दूरदृष्टि (Vision) (भावी सोच:)

 

  • ज्येष्ठ नागरिकको सुरक्षित, मर्यादित, स्वस्थ्य र सक्रिय जीवन

२२. ध्येय (Mission)

 

  • ज्येष्ठ नागरिकहरुको सम्मानपूर्ण,सुरक्षित,स्वस्थ,सक्रिय तथा मर्यादित जीवन सुनिश्चित गर्दे उनीहरुको ज्ञान, सीप र अनुभवलाई राष्ट्रनिर्माणमा उपयोग गर्ने।

२.३. लक्ष्य (Goal)

ज्येष्ठ नागरिकको विषयमा कानूनी संरक्षण, विशेष नीति तथा कार्यक्रम मार्फत ज्येष्ठ नागरिकका चुनौती र अवसरलाई सम्बोधन गर्दै हरेक स्थानमा ज्येष्ठ नागरिकमैत्री बातावरण सृजना गरी ज्येष्ठ नागरिकको जीवनयापन सुरक्षित, सम्मानित, मर्यादित र अधिकारमुखी बनाउने।

२.४. उद्देश्य (Objective)

यस नीतिको लक्ष्य हासिल गर्न लिईने उद्देश्य देहायबमोजिम रहेका छन्।

  1. ज्येष्ठ नागरिकको जीवन स्वस्थ, सुरिक्षत, मर्यादित र सम्मानजनक बनाउन परिवार, समाज र राज्यले निजी क्षेत्र समेतको सहभागितामा अनुकुल वातावरणको सिर्जना गर्दै ज्येष्ठ नागरिक मैत्री सेवा सुविधाहरुको सम्बोधन गर्ने।
  2. सामाजिक, आर्थिक र कानूनी संरक्षणको माध्यमबाट ज्येष्ठ नागरिकको हक, अधिकारको संरक्षण र प्रवर्द्वन गर्नु।
  3.  ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई मुलुकको आर्थिक, सामाजिक रूपान्तरण र राष्ट्रको समृद्धिकालागि उपयोग गर्नु।
  4.  असहाय, अशक्त, एकल र जोखिममा रहेका ज्येष्ठ नागरिकमाथि हुने हिंसा, दुर्व्यवहार र विभिन्न अपराधिक घटनाबाट बचाउन आवश्यक कानूनी व्यवस्था मिलाउने र ज्येष्ठ नागरिकको लागि विशेष संरक्षण र सुरक्षाको व्यवस्था गर्ने।

2.५ नीति (Policy)

यस नीतिको उद्देश्य परिपूर्तिका लागि देहायका नीति अवलम्वन गरिनेछ।

  1. ज्येष्ठ नागरिकको जीवनलाई स्वस्थ्य, सुरिक्षत, मर्यादित र सम्मानजनक जीवनयापनका लागि परिवार, समाज र राज्यले तीनै तहको सरकार तथा सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरी सेवा उपलब्ध गराइने छ। (उद्देश्य 1 सँग सम्बन्धित)
  2. ज्येष्ठ नागरिकका लागि आश्रयस्थल, सेवा केन्द्र, स्रोत तथा सूचना केन्द्र, केयर होम जस्ता संरचना बनाउनका लागि तीनै तहका सरकार तथा निकायहरुसँग समन्वय र सहकार्य गरिनेछ।(उद्देश्य 1 सँग सम्बन्धित)
  3. कानूनी प्रबन्ध, संस्थागत सुधार र ज्येष्ठ नागरिकमैत्री वातावरण निर्माणको लागि राज्यका तीनवटै तहमा ज्येष्ठ नागरिकको हक, अधिकारको संरक्षण र प्रबद्धर्न गर्न उपयुक्त प्रणालीको विकास गर्दै ज्येष्ठ नागरिकको सेवा सुविधा र सामाजिक सुरक्षाको प्रत्याभूति गरिने छ।(उद्देश्य 2 सँग सम्बन्धित)
  4. योग्य, सक्रिय तथा सक्षम ज्येष्ठ नागरिकलाई व्यवसाय तथा उत्पादन गर्न वैंक तथा वित्तीय संस्थाहरूबाट सहुलियतपूर्ण व्याजदरमा ऋण प्राप्त गर्न सक्ने व्यवस्था गरिने छ।(उद्देश्य 2 सँग सम्बन्धित)
  5. मानव संसाधन र क्षमता विकासका लागि ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप र अनुभवलाई पुस्ता हस्तान्तरण गर्दै आर्थिक-सामाजिक रूपान्तरण र  राष्ट्रको विकासको लागि उपयोग गरिने छ।(उद्देश्य 3 सँग सम्बन्धित)
  6. ज्येष्ठ नागरिकसम्बन्धी जनचेतना र सामाजिक अभियान सञ्चालन गरिने छ।(उद्देश्य 3 सँग सम्बन्धित)
  7. नेपाल पक्ष भएका ज्येष्ठ नागरिकसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि एवं राष्ट्रिय कानूनमा भएका व्यवस्था कार्यान्वयनमा ल्याउन ज्येष्ठ नागरिकको सम्बन्धमा विद्यमान कानूनमा भएका व्यवस्थालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिवद्दता अनुरूप तथा समयानुकूल परिमार्जन र पुनरावलोकन गरिने छ।(उद्देश्य 4 सँग सम्बन्धित)
  8. ज्येष्ठ नागरिकसम्बन्धी सूचना प्रणाली, तथ्याँक संकलन, परिमार्जन तथा व्यवस्थापन गरिने छ।(उद्देश्य 4 सँग सम्बन्धित)
  9. विमानस्थल, सडक, भवन, सरकारी कार्यालय, अस्पताल लगायतका सार्वजनिक भौतिक संरचना, पूर्वाधार तथा यातायातका साधनहरु ज्येष्ठ नागरिकमैत्री र पहुँचयुक्त बनाईने छ।(उद्देश्य 4 सँग सम्बन्धित)

२.६. रणनीति (Strategy)

नीति नं. 1 (ज्येष्ठ नागरिकको जीवनलाई स्वस्थ्य, सुरक्षित, मर्यादित र सम्मानजनक जीवनयापनका लागि परिवार, समाज र राज्यले तीनै तहको सरकार तथा सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरी सेवा उपलब्ध गरिने छ।) सँग सम्बन्धित रणनीतिः

      1. ज्येष्ठ नागरिकको सेवा सुविधा र सामाजिक सुरक्षाका लागि ज्येष्ठ नागरिकको संरक्षण र सम्मानित जीवन सुनिश्चित गर्नका लागि कानूनी प्रबन्ध, संस्थागत सुधार गरी राज्यका तीनवटै शासकीय तहमा ज्येष्ठ नागरिकको हक अधिकारको सुरक्षा र व्यवस्थापन गर्न उपयुक्त प्रणालीको विकास गर्ने।
      2. सरकारले ज्येष्ठ नागरिकसँग सरोकार राख्ने विभिन्न सरकारी निकाय, सामाजिक संघ संस्था र निजी क्षेत्रका सरोकारवालाहरूबीच समन्वय स्थापित गरी सहकार्य गर्ने।

 

नीति नं. 2 (कानूनी प्रबन्ध, संस्थागत सुधार र ज्येष्ठ नागरिकमैत्री वातावरण निर्माणको लागि राज्यका तीनवटै तहमा ज्येष्ठ नागरिकको हक, अधिकारको संरक्षण र प्रबद्धर्न गर्न उपयुक्त प्रणालीको विकास गर्दै ज्येष्ठ नागरिकको सेवा सुविधा र सामाजिक सुरक्षाको प्रत्याभूति गरिने छ।) सँग सम्बन्धित रणनीतिः

      1. ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, सुरक्षित र व्यवस्थित बनाउन आर्थिक, सामाजिक, पारिवारिक कार्यक्रम तथा सुरक्षाको सेवामा वृद्धि गर्ने।
      2. ज्येष्ठ नागरिक तथा अशक्त, असहाय, वेवारिसे र जोखिममा परेका ज्येष्ठ नागरिकका लागि विशेष संरक्षण तथा सुरक्षाको लागि आवश्यक सेवा-सुविधा उपलब्ध गराउने।

नीति नं. 3 (मानव संसाधन र क्षमता विकासका लागि ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप र अनुभवलाई पुस्ता हस्तान्तरण गर्दै आर्थिक-सामाजिक रूपान्तरण र  राष्ट्रको विकासको लागि उपयोग गरिने छ।) सँग सम्बन्धित रणनीतिः

      1. ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्नका लागि नीति निर्माणमा सहभागिता र स्रोतमा पहुँच सुनिश्चित गर्ने।
      2. परम्परागत असल (अभ्यास) मूल्य-मान्यताको संरक्षण गर्दै ज्येष्ठ नागरिकको सम्मानको लागि सरकार, समाज, समुदाय र परिवारलाई जिम्मेबार, उत्तरदायी एवं जवाफदेही हुने अवस्था सृजना गर्ने।
      3. मुलुकको आर्थिक, सामाजिक रूपान्तरण र राष्ट्रको समृद्धिका लागि ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उत्पादन, उद्यमशिलता र प्रविधिमैत्री तर्फ केन्द्रित गर्दै ज्येष्ठ नागरिकलाई आत्मनिर्भर बनाउने।

नीति नं. 4 (नेपाल पक्ष भएका ज्येष्ठ नागरिक सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि एवं राष्ट्रिय कानूनमा भएका व्यवस्था कार्यान्वयनमा ल्याउन ज्येष्ठ नागरिकको सम्बन्धमा विद्यमान कानूनमा भएमा व्यवस्थालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुरूप तथा समयानुकूल परिमार्जन र पुनरावलोकन गरिने छ।) सँग सम्बन्धित रणनीतिः

      1. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनले ज्येष्ठ नागरिकका लागि प्रदान गरेका हक अधिकार संरक्षण गर्न कानूनको निर्माण तथा पुनरावलोकन गर्ने।
      2. भौतिक संरचना, स्वास्थ्य सुविधा, यातायात सुविधा, साधन स्रोत, सूचना तथा सञ्चार र प्रविधिलाई पहुँचयुक्त एवम् ज्येष्ठ नागरिकमैत्री बनाई ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवा लिन सहज वातावरण निर्माण गर्ने। निजी क्षेत्रमा पनि सोही बमोजिम गर्न प्रोत्साहन गर्ने।
      3. ज्येष्ठ नागरिकसम्बन्धी प्रकाशित समग्र सूचना, दस्तावेज, तथ्यांक एवं साहित्यहरूको व्यवस्थापन तथा वितरणको लागि (आवश्यक सूचना तथा सामग्री संकलन एवं व्यवस्थित गर्न) स्रोत तथा सूचना केन्द्रको स्थापना गर्ने।

2.७. कार्यनीति (Action Policy)

रणनीति 2.6.१ (ज्येष्ठ नागरिकको जीवनलाई स्वस्थ्य, सुरिक्षत, मर्यादित र सम्मानजनक जीवनयापनका लागि परिवा र, समाज र राज्यले तीनै तहको सरकार तथा सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरी सेवा उपलब्ध गरिने छ।) सँग सम्बन्धित कार्यनीति

      1. स्थानीय तहमा योग्य, सक्रिय तथा सक्षम ज्येष्ठ नागरिकलाई सल्लाहकार,  विषय विज्ञको रूपमा सेवा प्रदान गर्न सक्ने अवसर दिइनेछ।
      2. योग्य, सक्रिय तथा सक्षम ज्येष्ठ नागरिकलाई व्यवसाय गर्न बैंक तथा वित्तीय संस्थाहरूबाट सहुलियतपूर्ण व्याजदरमा ऋण प्राप्त गर्न सक्ने व्यवस्था गरिनेछ।
      3. विषय विज्ञताको आधारमा योग्य, सक्रिय तथा सक्षम ज्येष्ठ नागरिकलाई उत्पादन तथा उत्पादकत्वमा आवद्वता कायम हुने वातावरण निर्माण गरी उनीहरुबाट उत्पादित सामान सहज रूपमा बिक्री वितरण गरिनेछ।
      4. शिक्षा मन्त्रालय मार्फत् स्थानीय निकायका वडा वडामा बुढौली शिक्षा एवम् ज्येष्ठ नागरिक साक्षरता अभियान संचालन गरिनेछ।
      5. जीवनयापनलाई सहज बनाउन अत्यावश्यक तथा समयसापेक्ष प्रविधिको ज्ञान, सीप लिन स्थानीय तहमा सिकाई तथा स्रोत केन्द्र संचालन गरिनेछ।
      6. ज्येष्ठ नागरिकले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता तथा अन्य सुविधा प्राप्त गर्न सहज र सरल उपयोगको व्यवस्था मिलाईनेछ।
      7. ज्येष्ठ नागरिकलाई प्रदान गरिदै आएको सामाजिक सुरक्षा भत्तामा समयानकूल पुनरावलोकन गरिनेछ।
      8.  स्वेच्छाले मासिक भत्ता आवश्यक नपर्ने/नलिने ज्येष्ठ नागरिकलाई स्वघोषणा गर्ने वातावरण तयार गरी विशेष सम्मान स्वरूप वार्षिक रूपले सार्वजनिक गर्दै लगिनेछ।
      9. सामाजिक सुरक्षाका कार्यक्रम प्रदान गर्दा अशक्त, असहाय र अपाङ्गता  भएका ज्येष्ठ नागरिकलाई घर, टोलमा उपयुक्त घुम्ती सेवा सञ्चालन हुने व्यवस्था गरिनेछ।
      10. नागरिकता नबनेका कारणले ज्येष्ठ नागरिक सेवा-सुविधाबाट वञ्चित नेपाली ज्येष्ठ नागरिकलाई नागरिकता दिने व्यवस्थामा सहजिकरण गरिनेछ।
      11. वृद्धावस्था व्यवस्थापन स्याहारकर्ता तालिम संचालनसम्बन्धी निर्देशिका तयार गरी प्रकाशन गरिनेछ।
      12. वृद्धावस्थाको वर्गिकरण गरी स्याहारकर्ता तालिमको लागि आवश्यकता बमोजिमको जनशक्ति तयार गरिनेछ।
      13. सबै स्थानीय निकायलाई स्याहारकर्ता तालिम संचालन गर्न सहकार्यात्मक वातावरण निर्माण गरी उत्प्रेरित गरिनेछ।
      14. आफ्ना आमा बुबालाई सन्तानले अनिवार्य रुपमा हेरचाह गर्नु पर्ने पद्धतिको विकास गरिनेछ।
      15. नेपाल सरकारले कडा रोग लागेका ज्येष्ठ नागरिकलाई विपन्न नागरिक उपचार कार्यक्रमबाट समुचित व्यवस्था मिलाउने छ।

 

रणनीति 2.6.2 (ज्येष्ठ नागरिकको सेवा सुविधा र सामाजिक सुरक्षाका लागि ज्येष्ठ नागरिकको संरक्षण र सम्मानित जीवन सुनिश्चित गर्नका लागि कानूनी प्रबन्ध, संस्थागत सुधार गरी राज्यका तीनवटै शासकीय तहमा ज्येष्ठ नागरिकको हक अधिकारको सुरक्षा र व्यवस्थापन गर्न उपयुक्त प्रणालीको विकास गर्ने।) सँग सम्बन्धित कार्यनीति

      1. संघ, प्रदेश तथा स्थानिय तहमा ज्येष्ठ नागरिकमैत्री नीति, योजना तथा कानून निर्माण गरी कार्यान्वयन गरिने छ।
      2. संघ, प्रदेश तथा स्थानीय तहमा ज्येष्ठ नागरिकमैत्री कानून निर्माण गर्न क्षमता अभिवृद्धिका कार्यक्रम संचालन गरिनेछ।
      3. संघ, प्रदेश तथा स्थानीय तहमा रहेका कानून निर्माण तथा कार्यान्वयनमा संलग्न पदाधिकारी तथा सरोकारवालालाई अभिमुखीकरण गरिनेछ।
      4. ज्येष्ठ नागरिकको विषयलाई मूल प्रवाहीकरण गरी विभिन्न विषयगत नीतिमा समावेश गरी कार्यान्वयन गरिने छ।
      5. ज्येष्ठ नागरिकमैत्री प्रणालीलाई राज्यका सबै शासकीय तहमा संस्थागत गरिनेछ।
      6. संघ, प्रदेश तथा स्थानीय तह लगायत अन्तर्राष्ट्रिय क्षेत्रका असल अभ्यासहरूलाई सरोकार निकायबीच आदान प्रदान गरिने छ।
      7. अशक्त, असहाय, एकल, वेवारिसे, हिंसा वा उपेक्षामा परेका ज्येष्ठ नागरिकका लागि विशेष संरक्षणको व्यवस्था गरिनेछ।
      8. ज्येष्ठ नागरिकका सवालमा सबै शासकीय तहमा थप अध्ययन-अनुसन्धान गरी प्रभावकारिता अभिवृद्धि हुने गरी कार्यक्रम संचालन गरिने छ।
      9. ज्येष्ठ नागरिकको वर्गीकरण गरिनेछ।

रणनीतिः 2.6.3 (सरकारले ज्येष्ठ नागरिकसँग सरोकार राख्ने विभिन्न सरकारी निकाय, सामाजिक संघ संस्था र निजी क्षेत्रका सरोकारवालाहरूबीच समन्वय स्थापित गरी सहकार्य गर्ने।)सँग सम्बन्धित कार्यनीति

      1. ज्येष्ठ नागरिकसम्बन्धी आवश्यक कार्य संचालन गर्न सार्वजनिक निजी सहकार्यको ढाँचा अनुरूप कार्यक्रमहरू संचालन गरिनेछ।
      2. ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने सामाजिक सघ/संस्थाको संस्थागत क्षमता अभिवृद्ध गरिनेछ।
      3. ज्येष्ठ नागरिकका सवालमा क्षेत्राधिकार प्राप्त सरकारी निकायहरुबीच समन्वय र सहकार्य कायम गरिनेछ।
      4. ज्येष्ठ नागरिकका सवालमा प्रभावकारिताको लागि अन्त्तरनिकाय संयन्त्र निर्माण गरिनेछ।

रणनीतिः 2.6.4 (ज्येष्ठ नागरिक तथा अशक्त, असहाय, वेवारिसे र जोखिममा परेका ज्येष्ठ नागरिकका लागि विशेष संरक्षण तथा सुरक्षाको लागि आवश्यक सेवा-सुविधा उपलब्ध गराउने।) सँग सम्बन्धित रणनीतिः

      1. निजी तथा गैर सरकारी क्षेत्रसँगको सहकार्यमा ज्येष्ठ नागरिकको लागि स्थानीय तहमा स्रोत तथा सूचना केन्द्र, ज्येष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र र प्रदेशमा आरोग्य आश्रमको स्थापना र संचालन गरिनेछ।
      2. हेरचाह केन्द्र, ज्येष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र संचालनको लागि मापदण्ड निर्माण गरी कार्यान्वयमा ल्याईनेछ।
      3. ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा दिईएको छुट सुविधालाई सहजरुपमा सुविधा पाउने प्रबन्ध गर्नुका साथै यस्तो सुविधा क्रमश: हवाई यातायातमा समेत प्राप्त गर्ने व्यवस्था गरिनेछ।
      4.  ज्येष्ठ नागरिकलाई सेवा प्रवाहमा विशेष प्राथमिकता दिइनेछ।
      5. सामाजिक क्षेत्रमा आयोजना गरिने सबै कार्यक्रममा ज्येष्ठ नागरिकलाई विशेष स्थानको व्यवस्था गर्ने प्रबन्ध मिलाइनेछ।
      6. असहाय, अशक्त, एकल, मनोसामाजिक समस्या भएका र जोखिममा परेका नागरिकलाई सामाजिक संरक्षणको व्यवस्था- गरिनेछ।
      7. ज्येष्ठ नागरिकको उपचारको लागि विज्ञ चिकित्सक र उपकरणको व्यवस्था सहित प्रत्येक सरकारी तथा निजी अस्पतालमा जेरियाट्रिक वार्डको स्थापना गरिनेछ।
      8. ज्येष्ठ नागरिकको सबै प्रकारको उपचारमा सरकारी र सामुदायिक अस्पतालमा विशेष छुटमा सेवा पाउने व्यवस्था गर्दै सो व्यवस्था क्रमशः निजी अस्पतालमा पनि अबलम्वन गरिनेछ।
      9.  स्वास्थ्य विमाको दायरा विस्तार गर्दे लगिनेछ।
      10. ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न सबै अस्पताल तथा हेल्थपोष्टमा भौतिक संरचना र सेवाहरु ज्येष्ठ नागरिकमैत्री बनाइनेछ।
      11. असहाय, अशक्त र जोखिममा परेका ज्येष्ठ नागरिकलाई निरन्तर औषधि सेवन तथा प्रयोग गर्नु पर्ने ‍औषधी तथा उपकरण निःशुल्क उपलब्ध गराईनेछ।
      12. Terminal illness, prolonged chronic illness का लागि सरकारी व्यवस्था गरिनेछ।‌
      13. विपन्न नागरिक उपचार कार्यक्रमबाट कडारोग लाग्ने ज्येष्ठ नागरिकलाई समुचित व्यवस्था मिलाईनेछ।

 

रणनीति 2.6.5: (मानव संसाधन र क्षमता विकासका लागि ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप र अनुभवलाई पुस्ता हस्तान्तरण गर्दै आर्थिक-सामाजिक रूपान्तरण र  राष्ट्रको विकासको लागि उपयोग गरिने छ।) सँग सम्बन्धित रणनीतिः

      1. ज्येष्ठ नागरिकलाई नीति निर्माणमा सहभागिता र स्रोत-साधनमा पहुँच पु-र्याइ अपनत्व वृद्धि गरिनेछ।
      2. संघ, प्रदेश र स्थानीय तहको नीति निर्माणको लागि ज्येष्ठ नागरिकको विज्ञता उपयोग गर्ने वातावरण निर्माण गरिनेछ।
      3. ज्येष्ठ नागरिको ज्ञान, सीप र अनुभवद्वारा अन्तरपुस्ता बिचको दुरी कम गर्न  अन्तरपुस्ता ज्ञान, सीप हस्तान्तरण तथा नवपुस्ता बिचको दुरी कम गर्न छलफल र अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ।
      4. ज्येष्ठ नागरिकले समाज र राष्ट्रको लागि पु-र्याएको योगदानको आधारमा सम्मान र आदर गरिनेछ।
      5. ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न विद्यालयस्तरमा अन्तर पुस्तान्तरण कार्यक्रम संचालन गरिनेछ।
      6. स्रोत र साधनले युक्त ज्येष्ठ नागरिकसम्बन्धी सबै प्रकारका जानकारी प्राप्त गर्न ज्येष्ठ नागरिकको विवरण तयार गरी उनीहरुको क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्न प्रत्येक स्थानीय तहमा ज्येष्ठ नागरिक स्रोत तथा सूचना केन्द्रको स्थापना गरिनेछ।
      7. शैक्षिक संस्था, तालिम केन्द्र जस्ता स्थानमा अनुभव ज्ञान सीप हस्तान्तरण गर्न  स्रोत व्यक्तिको रुपमा योग्य ज्येष्ठ नागरिकलाई अवसर प्रदान गरिनेछ।
      8. संचार माध्यम तथा सामाजिक संजाल बाट ज्येष्ठ नागरिकसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने वातावरण मिलाईनेछ।
      9. ज्येष्ठ नागरिकद्धारा ज्येष्ठ नागरिक परामर्श सेवा सञ्चालन गर्ने व्यवस्था गरिनेछ।
      10.  सार्वजनिक समितिहरुमा ज्येष्ठ नागरिकको सहभागितालाई प्राथमिकता दिइनेछ।
      11. ज्येष्ठ नागरिकको विज्ञताको आधारमा स्थानीय विकास कार्यक्रम र आयोजनाको मूल्यांकन, सामाजिक परीक्षण र अनुगमनमा संलग्न गराईनेछ।

 

रणनीतिः 2.6.6( परम्परागत असल अभ्यास, मूल्य-मान्यताको संरक्षण गर्दै ज्येष्ठ नागरिकको सम्मानको लागि सरकार, समाज, समुदाय र परिवारलाई जिम्मेवार, उत्तरदायी एवं जवाफदेही हुने अवस्था सृजना गर्ने।) सँग सम्बन्धित रणनीतिः

      1. ज्येष्ठ नागरिकप्रति सम्मान एवं हार्दिकता अभिवृद्धि गर्ने असल संस्कारका विषयहरुको निरन्तरताको लागि स्थानीय तहमा विभिन्न कार्यक्रम संचालन गरिनेछ।
      2. ज्येष्ठ नागरिकलाई सम्मानजनक रूपमा पालन पोषण तथा हेरचाह गर्ने व्यक्ति/परिवारलाई राज्यबाट सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम संचालन गरिनेछ।
      3. ज्येष्ठ नागरिक अर्थात परिवारका मूलीको भरण पोषण र सुरक्षा गर्न परिवारका सदस्यलाई सामाजिक र कानूनी रूपमा जिम्मेवार बनाउन कार्यक्रम संचालन गरिनेछ
      4. परिवारका सदस्यहरूको लागि चेतना मूलक कार्यक्रम संचालन गरी स्वास्थ्य, पोषण तथा वृद्धावस्था व्यवस्थापन गर्ने तर्फ उत्प्रेरित गरिनेछ।
      5. ज्येष्ठ नागरिकका सवाललाई शासकीय संयन्त्रमा स्थापित गराउन समाज र परिवारमा चेतना अभिवृद्धि  गर्दै निजहरुको सलग्नतामा समूह निर्माण गर्न उत्प्रेरित गरिनेछ।

रणनीतिः 2.6.7 (मुलुकको आर्थिक, सामाजिक रूपान्तरण र राष्ट्रको समृद्धिका लागि ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उत्पादन तर्फ केन्द्रित गर्दै ज्येष्ठ नागरिकलाई आत्मनिर्भर बनाउने। ) सँग सम्बन्धित रणनीतिः

      1. स्थानीय तहमा योग्य, सक्रिय तथा सक्षम ज्येष्ठ नागरिकलाई विषय विज्ञताको आधारमा ज्येष्ठ नागरिकको ज्ञानसीप अनुभवलाई उपयोग गरी आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याइनेछ।
      2. संघ, प्रदेश र स्थानीय तहको नीति निर्माणको लागि ज्येष्ठ नागरिकको विज्ञता उपयोग गर्ने वातावरण निर्माण गरिनेछ।

रणनीति 2.6.8 (नेपाल पक्ष भएका ज्येष्ठ नागरिक सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि एवं राष्ट्रिय कानूनमा भएका व्यवस्था कार्यान्वयनमा ल्याउन ज्येष्ठ नागरिकको सम्बन्धमा विद्यमान कानूनमा भएका व्यवस्थालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिवद्दता अनुरूप समयानुकूल परिमार्जन र पुनरावलोकन गरिने छ।) सँग सम्बन्धित रणनीतिः

      1. सरकारी एवम् निजी क्षेत्रबाट निर्माण हुने भवन निर्माणको नक्सा पास गर्दा स्थानीय तहले विद्यमान संरचनालाई यथासम्भव ज्येष्ठ नागरिकमैत्री  भवन निर्माण हुने गरी नक्सा पास हुने प्रणालीको विकास गरिनेछ।
      2. आमसञ्चार, सूचना र प्रविधिमा ज्येष्ठ नागरिकलाई पहुँच सुनिश्वित गर्ने गरी सेवाको उपलब्धता र उपकरणको व्यवस्था गरिनेछ।
      3. ज्येष्ठ नागरिकहरूबीचको सञ्चारलाई सक्रिय बनाई उनीहरूको क्षमता विकास गरिनेछ।
      4. धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय, खेलकुद र मनोरञ्जनका संरचनालगायत सबै सार्वजिक स्थललाई पहुँचयुक्त र सुविधायुक्त बनाईनेछ।
      5. ज्येष्ठ नागरिकमैत्री यातायात संचालन गर्न व्यवसायीहरुलाई उत्प्रेरित गरिनेछ।
      6.  सार्वजनिक यातायात लगायत सर्वजनिक क्षेत्रमा काम गर्ने चालक/सहचालक र कर्मचारीहरुलाई ज्येष्ठ नागरिकमैत्री व्यवहार सम्वन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिनेछ।
      7. ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न निर्माणाधिन र निर्माण सम्पन्न अस्पताल, जेरियाट्रिक वार्ड र सार्वजनिक शौचालय ज्येष्ठ नागरिकमैत्री बनाइनेछ।
      8. हेरचाह सेवालाई सेवा उद्योगका  रुपमा विकास गर्ने रणनीति लिइनेछ।

रणनीति 2.6.9 (राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनले ज्येष्ठ नागरिककालागि प्रदान गरेका हक अधिकार संरक्षण गर्न कानूनको निर्माण तथा पुनरावलोकन गर्ने।) सँग सम्बन्धित रणनीतिः

      1. नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धिमा ज्येष्ठ नागरिकसम्बन्धी भएका व्यवस्था कार्यान्वयनमा ल्याउन नयाँ कानून निर्माण तथा विद्यमान कानूनको पुनरावलोकन गरिनेछ।
      2. ज्येष्ठ नागरिकलाई कैद मिनाहा गर्नेसम्बन्धी कानुनी व्यवस्थाको समय अनुकुल परिमार्जन र कार्यान्वयन गरिनेछ।
      3. ज्येष्ठ नागरिकसम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा संचालन हुने खुला छलफलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै भाग लिईनेछ।

 

रणनीति 2.6.10 (ज्येष्ठ नागरिकसम्बन्धी प्रकाशित समग्र सूचना, दस्तावेज, तथ्यांक एवं साहित्यहरूको ब्यवस्थापन तथा वितरणको लागि (आवश्यक सूचना तथा सामग्री संकलन एवं व्यवस्थित गर्न) स्रोत केन्द्रको स्थापना गर्ने) सँग सम्बन्धित रणनीतिः

      1. ज्येष्ठ नागरिकसम्बन्धी राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित जर्नल, लेख, रचना, स्मारिका, साहित्य लगायतमा तथ्यगत सूचना एवं तथ्यांकहरू संकलन गरिनेछ।
      2. ज्येष्ठ नागरिकसम्बन्धी सूचना तथा तथ्याङ्क अद्यावधिक र व्यवस्थित गर्ने संयन्त्रको विकास गर्दै लगिनेछ। 
      3. ज्येष्ठ नागरिकले गरेका अनुसन्धान, साहित्यिक सिर्जना, लेख रचना प्रकाशन गरिनुका साथै उच्च मूल्यांकन भएका लेख, रचना प्रकाशन र अनुसन्धानलाई पुरस्कृत गरिनेछ।
      4. राष्ट्रिय, जातीय, वर्गीय, वंशीय लगायतका इतिहास, भाषा, संस्कृति, परम्परा मूल्य मान्यताको ज्ञान भएका ज्येष्ठ नागरिकको उपयोग गरेर इतिहास, भाषा, लिपि, परम्परा तथा मूल्य-मान्यता लिपिबद्ध गरी संरक्षण गरिनेछ।
      5. ज्येष्ठ नागरिकको तथ्यांकलाई समसामयिक र व्यवस्थित गर्न सबै स्थानीय तहलाई उत्तरदायी बनाउन उत्प्रेरित गरिनेछ।
      6. स्थानीय तहदेखि केन्द्रसम्मको सबै ज्येष्ठ नागरिकको अभिलेख तयार गरी  अद्यावधिक गरिनेछ।
      7. ज्येष्ठ नागरिकसम्बन्धी तथ्याङ्क, अभिलेख अद्यावधिक गर्न सामाजिक सूचना व्यवस्थापन प्रणाली (Social Management Information System-SMIS) प्रणालीलाई अद्यावधिक गरिनेछ।

 

परिच्छेद ३: नीति कार्यान्वयन

३.१. संस्थागत व्यवस्था

  • यस नीतिलाई प्रभावकारी कार्यान्वयका लागि आवश्यक मार्गदर्शन तथा समन्वय गर्न देहाय बमोजिमका पदाधिकारीहरू सदस्य रहेको एक उच्चस्तरीय केन्द्रीय ज्येष्ठ नागरिक निर्देशन समितिरहनेछः
  1. महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्‍ख्यक र समाजिक सुरक्षा मन्त्रालय,मन्त्री वा राज्यमन्त्री                                                 -अध्यक्ष

 

  1. सदस्य, राष्ट्रिय योजना आयोग, (सामाजिक सेवा हेर्ने)                  -सदस्य
  2. सचिव, अर्थ मन्त्रालय                                                                         -सदस्य
  3. सचिव, गृह मन्त्रालय                                  -सदस्य
  4. सचिव, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्‍ख्यक र समाजिक सुरक्षा मन्त्रालय,                                                  -सदस्य
  5. सचिव, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय                       -सदस्य
  6. सचिव, भूमि, सहकारी, सघींय मामिला तथा सामान्य प्रशासन मन्त्रालय    -सदस्य
  7. उपाध्यक्ष, सामाज कल्याण परिषद्                                -सदस्य
  8. ....................                                              - सदस्य
  9. सदस्य-सचिव, पशुपति क्षेत्र विकास कोष                           -सदस्य
  10. अध्यक्ष, नेपाल चिकित्सक संघ                                   -सदस्य
  11. अध्यक्ष, नेपाल नर्सिङ संघ                                      -सदस्य
  12. अध्यक्ष, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ                             -सदस्य
  13. ज्येष्ठ नागरिकको हित संरक्षण गर्नको लागि सञ्चालित संस्थाहरूमध्येबाट नेपाल सरकारले मनोनयन गरेको एक जना महिला समेत दुई जना प्रतिनिधि              -सदस्य
  14. धार्मिक तथा सामाजिक कार्यमा संलग्न व्यक्तिहरूमध्येबाट नेपाल सरकारले मनोनीत गरेको एक जना महिला समेत दुई जना                                  -सदस्य     
  15. सहसचिव, महिला, बालबालिका, लैङ्गिक तथा अल्पसङ्‍ख्यक र समाजिक सुरक्षा मन्त्रालय    (सम्वन्धित महाशाखा हेर्ने)                             -सदस्यसचिव                                                                                                          

केन्द्रीय ज्येष्ठ नागरिक निर्देशन समितिको सचिवालयको कार्य महिला, बालबालिका, लैङ्गिक तथा अल्पसङ्‍ख्यक र समाजिक सुरक्षा मन्त्रालयको सामाजिक समन्वय महाशाखाले व्यवस्थापन गर्नेछ।

  • ज्येष्ठ नागरिक सम्बन्धी नीति, योजना तथा रणनीतिको कपार्यान्वय गर्ने गराउने, निकायगत एवं अन्तरतहगत समन्वय र सामन्जस्य लगायतका कार्यसम्पादन गर्न आवश्यक संस्थागत व्यवस्था गरिनेछ।
  • प्रदेश तथा स्थानीय तहबाट ज्येष्ठ नागरिक सम्बन्धी बिषयमा जिम्मेवारी वहन गर्ने व्यवस्थाका लागि आवश्यक प्रबन्ध गरिनेछ।

   

३.२ कानुनी व्यवस्था

यस नीतिमा भएका व्यवस्थालाई पूर्ण र प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन विद्यमान ज्येष्ठ नागरिक सम्बन्धी कानूनहरूको आवश्यकता अनुसार परिमार्जन वा पुनर्लेखन गरिनेछ। यस नीतिको प्रभावकारी कार्यान्वयका लागि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्‍ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले समन्वय र सहजीकरणको भूमिका निर्वाह गर्नेछ।

३.3 वित्तीय व्यवस्था

प्रस्तुत नीतिलाई एक विस्तृत एवं एकीकृत कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ। यस नीति कार्यान्वय गर्ने सन्दर्भमा वैदेशिक सहायता परिचालन,कोष परिचालन, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्था परिचालन, सार्वजनिक निजी साझेदारी मार्फत स्रोत व्यवस्थापन, समन्वय र सहजीकरण गर्ने तथा सहलगानीका लागि संघ र प्रदेश जिम्मेवार हुनेछन्। ज्येष्ठ नागरिकको व्यवस्थापनको समग्र जिम्मेवारी स्थानीय तहको रहेको हुँदा यस नीतिको कार्यान्वयको लागि आवश्यक पर्ने स्रोत सम्बन्धित स्थानीय तहले आ-आफ्नो बजेट तथा कार्यक्रमा समावेश गरी व्यवस्थापन गर्ने छन्।

३.४. नीति समन्वय र सामञ्जस्यता

राष्ट्रिय ज्येष्ठ नागरिक नीति, २०८३ को कार्यान्वयनको समग्र स्थितिको बार्षिक तथा आवधिक मूल्याङ्गन महिला,बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्‍ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले गर्नेछ। त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिषरिषद्को कार्यालय, ज्येष्ठ नागरिकको कार्यक्षेत्रसँग सम्बन्धित रहने विभिन्न मन्त्रालय, प्रदेश सामाजिक विकास मन्त्रालय/सरोकारवाला मन्त्रालय,सम्बन्धित स्थानीय तह लगायतका निकायहरूले आ-आफ्नो क्षेत्राधिकार भित्र रही नियमित अनुगमन तथा मूल्याङ्गन गर्नेछन्। नीतिको अनुगमन तथा मूल्याङ्गनका लागि मापदण्ड एवं सूचकहरूको विकास गरी ती सूचकहरुको आधारमा अनुगमन तथा मूल्याङ्गन गरिनेछ।पाचँ वर्षमा नीतिको पुनरावलोकन गरी आवश्यकता अनुसार संशोधन/सुधार गरिनेछ।यस नीतिको राष्ट्रिय विकासमा परेको प्रभाव मूल्याङ्कनको समन्वय राष्ट्रिय योजना आयोगले गर्नेछ।

यो नीतिको कार्यान्वयन पश्चात मुलुकमा रहेका सबै ज्येष्ठ नागरिकले आफनो जीवन मर्यादित र सम्मानपूर्वक रूपमा विताउने वातावरणको निर्माण हुनेछ। शारीरिक, मानसिक, असहाय, अशक्त, जोखिममा परेका र परिवारका कोही पनि सदस्य नभएकाहरूले समेत समाजमा मर्यादित र सम्मानपूर्वक बाँच्न पाउने र उपचार तथा औषधोपचारको व्यवस्था राज्यद्वारा प्रत्याभूत भएको हुनेछ।यो नीतिको कार्यान्वयन पश्चात मुलुकमा रहेका सबै ज्येष्ठ नागरिकले आफनो जीवन मर्यादित र सम्मानपूर्वक रूपमा विताउने वातावरणको निर्माण हुनेछ। शारीरिक, मानसिक, असहाय, अशक्त, जोखिममा परेका र परिवारका कोही पनि सदस्य नभएकाहरूले समेत समाजमा मर्यादित र सम्मानपूर्वक बाँच्न पाउने र उपचार तथा औषधोपचारको व्यवस्था राज्यद्वारा प्रत्याभूत भएको हुनेछ।

३.५. जोखिम पहिचान र व्यवस्थापन

यस नीतिको प्रकृति र स्वरूप वृहत् तथा साझा विषय भएकोले देहायका जोखिम हुन सक्ने अनुमान गरिएको छः-

  • ज्येष्ठ नागरिकसम्बन्धी बुझाइमा विविधता हुन सक्ने ।
  •  राष्ट्रिय ज्येष्ठ नागरिक नीति कार्यान्वयनमा आवश्यक ज्ञान, सीप र क्षमतायुक्त जनशक्ति तथा स्रोत साधनको सीमितता हुन सक्ने।
  • ज्येष्ठ नागरिकको विषय बहुपक्षीय सरोकार राख्ने विषय भएकाले समन्वय र सहयोगमा समस्या हुन सक्ने।
  • राज्यका विभिन्न निकायबीच नीति कार्यान्यनका लागि आ-आफ्नो भूमिकामा अन्यौल र दोहोरोपना आउन सक्ने।
  • ज्येष्ठ नागरिकको व्यवस्थापनमा निजी क्षेत्र, गैर सरकारी संस्थाहरूको अपनत्व र सहभागितामा समस्या उत्पन्न हुन सक्ने।
  • विपद् र महामारीको अवस्थामा नीति कार्यान्वय प्रभावित हुनसक्ने।

 

जोखिम न्यूनीकरणका उपायहरूः-

  • संघ, प्रदेश तथा स्थानीय तहको भूमिका र जिम्मेवारी स्पष्ट गरी यस नीतिको कार्यान्वयन कार्यायोजना तयार गरी कार्यान्वय गरिनेछ। नीति कार्यान्वयको अनुगमन तथा मूल्याङ्कन योजना तर्जुमा गरी लागू गरिनेछ।
  • संघ,प्रदेश तथा स्थानीय तहमा समन्वय संयन्त्रका रूपमा सम्पर्क विन्दुको व्यवस्था गरी क्षमता विकास गरिनेछ। ज्येष्ठ नागरिकका सवालको विषयमा दक्ष जनशक्ति परिचालन गरिनेछ।
  • ज्येष्ठ नागरिकको विषय विज्ञ, प्राज्ञ र व्यावसायिक दक्षता भएका व्यक्तिहरूको विज्ञ समूह (Think Tank) मन्त्रालयमा निर्माण गरी नीतिको अध्ययन एवम् विश्लेषण गरिनेछ।

3.6. अनुगमनमूल्याङ्कन  तथा नीति पुनरावलोकनः

राष्ट्रिय ज्येष्ठ नागरिक नीति, २०८३ को कार्यान्वयनको समग्र स्थितिको बार्षिक तथा आवधिक मूल्याङ्गन महिला,बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्‍ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले गर्नेछ। त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिषरिषद्को कार्यालय, ज्येष्ठ नागरिकको कार्यक्षेत्रसँग सम्बन्धित रहने विभिन्न मन्त्रालय, प्रदेश सामाजिक विकास मन्त्रालय, सम्बन्धित स्थानीय तह लगायतका निकायहरूले आ-आफ्नो क्षेत्राधिकार भित्र रही नियमित अनुगमन तथा मूल्याङ्गन गर्नेछन्। नीतिको अनुगमन तथा मूल्याङ्गनका लागि मापदण्ड एवं सूचकहरूको विकास गरी ती सूचकहरुको आधारमा अनुगमन तथा मूल्याङ्गन गरिनेछ।पाचँ वर्षमा नीतिको पुनरावलोकन गरी आवश्यकता अनुसार संशोधन/सुधार गरिनेछ।यस नीतिको राष्ट्रिय विकासमा परेको प्रभाव मूल्याङ्कनको समन्वय राष्ट्रिय योजना आयोगले गर्नेछ।

3.७. नीति कार्यान्वयन कार्ययोजना

नीतिबाट अपेक्षा गरिएका भावी सोच/लक्ष्य/उद्देश्य तोकिएको समयावधिभित्र हाँसिल गर्न नीतिगत व्यवस्थालाई क्रियाकलापमा विभाजन गरी कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ। कार्ययोजना अनुसूचीमा दिइएको छ।

3.८ खारेजी र बचाउ

यस नीतिको कार्यान्वयन गर्दा कुनै पनि किसिमको बाधा आईपरेमा नेपाल सरकारले सो बाधा अड्काउ फुकाउ गरिनेछ।