प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

 

आज मिति २०८//१६ गते आठौं राष्ट्रिय महिला अधिकार दिवसको मूल समारोह महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान भन्ने नाराका साथ काठमाडौंमा भव्यताका साथ सम्पन्न भयो।माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको अध्यक्षतामा सम्पन्न उक्त मूल समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरु, संघीय संसदका माननीय सदस्यहरु, नेपाल सरकारका सचिवहरु, महिला अधिकारकर्मी, सरोकारवाला निकायका प्रतिनिधिहरु, सामाजिक अभियन्ताहरु लगायत करिब ५०० जनाको उत्साहजनक उपस्थिति रहेको थियो। 

 

समारोहमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव श्री राधिका अर्यालले स्वागत मन्तव्य प्रस्तुत गर्दै महिला अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि र सो को प्राप्तिमा योगदान गर्ने सबैमा आभार तथा सम्मान व्यक्त गर्नुभयो। त्यसैगरी मूल समारोहमा महिला अधिकारकर्मी रीता साहले महिला अधिकारको अवस्था, व्यवस्था र चुनौतिहरु विषयक कार्यपत्र प्रस्तुत गर्दै महिला अधिकारका सम्बन्धमा भएका व्यवस्थाहरु र यसको कार्यान्वयनमा देखिएका समस्या तथा चुनौतिहरुबारे चर्चा गर्नुभयो।साथै समारोहमा सात वटै प्रदेशबाट एक एक जनाका दरले जम्मा सात जना महिला उद्यमीहरुलाई महिला उद्यमी समुन्नति पुरस्कार प्रदान गरिएको थियो।

समारोहमा थारु आयोगका माननीय कार्यबाहक अध्यक्ष सुवोध सिंह थारुले शुभकामना मन्तव्य प्रस्तुत गर्दै सबैको सम्मान मार्फत सभ्य समाजको निर्माण गर्नु आवश्यक रहेको र यसका लागि सबै वर्ग र समुदायको अधिकार सुनिश्चित गर्नु आवश्यक रहेको बताउनुभयो। त्यसैगरी, राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष कमला पराजुलीले शुभकामना मन्तव्य प्रस्तुत गर्दै राष्ट्रिय महिला अधिकार दिवसले हामी सबैलाई महिला अधिकारका लागि लागिरहने संकल्प प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।साथै, राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष तप बहादुर मगरले शुभकामना मन्तव्य प्रस्तुत गर्दै महिला अधिकार र मानव अधिकार एकअर्काको परिपुरक भएको र मानव अधिकार सुदृढ भए मात्र महिला अधिकार सुनिश्चित हुने कुरामा जोड दिनुभयो।

मूल समारोहका अध्यक्ष एवं माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्दै नेपालको संविधान र कानूनद्वारा प्रदत्त हक अधिकारको सुनिश्चितताका लागि मन्त्रालय प्रतिवद्ध रहेको कुरा व्यक्त गर्दै लैङ्गिक हिंसाका घटनाहरुमा शून्य सहनशीलताको नीति अवलम्बन गरिएको कुरा प्रष्ट पार्नुभयो।साथै, वहाँले दिवसको अवसरमा पुरस्कृत हुनुहुने सबै महिला उद्यमीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै महिलाको क्षमता, सिप र सृजनशीलतालाई राष्ट्र विकासको मूलप्रवाहमा ल्याउनका लागि क्रियाशिल रहन आजको दिनले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै समारोहको समापन गर्नुभयो।

 जेठ १६,२०८३

 नेपाल सम्वत ११४६                                           

                                                                            (मिलन भट्टराई)

                                                                        उपसचिव/सहायक प्रवक्ता