प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय तथा व्यक्तिहरुको हक, अधिकार कल्याणका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सदैव प्रतिवद्ध रही कार्य गर्दै आएको छ।नेपालको संविधानले महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण नगरिने कुरालाई मौलिक हक मार्फत प्रत्याभूत गरेको छ।महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (CEDAW), बाल अधिकार सम्बन्धी महासन्धि (CRC) अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धि (CRPD) को नेपाल पक्ष राष्ट्र पनि हो।

महिला तथा किशोरीउपर हुने विभिन्न स्वरुपका हिंसा दुर्व्यवहार न्यूनीकरणका लागि मन्त्रालयले विभिन्न सचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गर्नुका साथै पीडितहरुलाई संरक्षण पुनर्स्थापना गर्ने कार्य नियमित रुपमा गर्दै आएको छ। यसका साथै मन्त्रालयले लैङ्गिक हिंसा न्यूनीकरण प्रतिकार्यका क्षेत्रमा कार्य गर्ने सरोकारवाला निकायहरुसँग नियमितरुपमा समन्वय सहकार्य समेत गर्दै आएको छ।पछिल्लो समयमा महिला तथा किशोरीहरुमा विभिन्न स्वरुपमा भएका लैङ्गिक हिंसाका घटनाहरु सञ्चार माध्यम मार्फत सार्वजनिक भएको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको छ। महिला तथा किशोरीहरुमाथि हुने शारीरिक, मानसिक, यौनजन्य, आर्थिक लगायत सबै स्वरुपका हिंसा व्यक्तिको मौलिक हकका साथै मानव अधिकारको गम्भीर उल्लङ्घनको विषय हो।सबै स्वरुपका लैङ्गिक हिंसाबाट पीडित तथा प्रभावितहरुलाई तत्काल उद्धार, संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्न नेपाल सरकारले विभिन्न सेवा तथा सहयोग कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।यस अन्तर्गत राष्ट्रिय महिला आयोगबाट "खबर गरौं ११४५" नि:शुल्क हेल्पलाईन सेवा, राष्ट्रिय बाल अधिकार परिषद मार्फत बाल हेल्पलाइन सेवा (नि:शुल्क फोन नं. १०९८), बालबालिका खोजतलास सेवा (नि:शुल्क फोन नं. १०४), स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत अस्पतालहरुमा एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) मार्फत स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श तथा कानुनी सहायता महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत पुनर्स्थापना केन्द्र, मनोसामाजिक परामर्श सेवा विभिन्न सरकारी तथा गैर सरकारी निकायमार्फत कानुनी सहायता तथा समन्वय सेवा दीर्घकालीन पुनर्स्थापना तथा आत्मनिर्भरताका लागि सीप विकास कार्यक्रमहरु सञ्चालनमा रहेका छन्।

महिला तथा किशोरीहरुलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा ११४५ नि:शुल्क हेल्पलाईन सेवा वा अस्पतालमा अवस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र वा नेपाल प्रहरीको टेलिफोन नं. १०० वा बाल हेल्पलाइन सेवा १०९८ वा यस मन्त्रालयको ईमेल gbvps.mowcsc@gmail.com, मोवाइल नं. ९८५१३११११२ मा सम्पर्क गरी वा WhatsApp गरी तत्कालै जानकारी गराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।यसका साथै, लैङ्गिक हिंसा मुक्त समाज निर्माणका लागि -आफ्नो तर्फबाट योगदान गर्न सबै व्यक्ति, परिवार, समुदाय, सरकारी निकाय, निजी क्षेत्र, सञ्चार माध्यम तथा सरोकारवाला संघ/संस्था निकायमा हार्दिक अनुरोध छ।

वैशाख १७, २०८३

नेपाल सम्वत् ११४६

                                                                     (चक्र बहादुर बुढा)

                                                                     सहसचिव/ प्रवक्ता